१४ कार्तिक २०८३, शुक्रबार

मधेसमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल

ड्रागन मिडिया समाचार कक्ष

मधेस प्रदेशमा नयाँ सरकार गठनका विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ राजनीतिक समीकरणका लागि संवादमा जुटेका हुन्।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार सरकार गठनबारे तीन दलबीच छलफल भइरहेको छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमतका नेताहरूसँग संवाद भइरहेको र चाडपर्वपछि छलफललाई निष्कर्षमा पुर्‍याउने तयारी रहेको बताए।

प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टीका संसदीय दलका नेताले तीनै दलका अध्यक्षबीच केन्द्रबाटै नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताएका छन्। नयाँ राजनीतिक समीकरणमा सहभागी तीनवटै दलले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। नयाँ सरकार गठनका लागि दलहरूबीचको छलफल आगामी दिनमा थप निर्णायक हुने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button