३० भाद्र २०८३, मंगलवार

पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षामन्त्रीको अन्तर्क्रिया, शैक्षिक र प्रशासनिक सुधारमा जोड

ड्रागन मिडिया सम्वाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग शैक्षिक गुणस्तर, प्रशासनिक सुधार, प्रविधिको प्रयोग, पूर्वाधार विकास र अस्पताल सञ्चालनलगायत विषयमा छलफल गरेका छन्।

मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा विश्वविद्यालय पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था तथा संस्थाले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। उनले विश्वविद्यालयलाई समयानुकूल, प्रविधिमैत्री र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न शैक्षिक तथा प्रशासनिक क्षेत्रमा परिणाममुखी सुधार आवश्यक रहेको बताए।

मन्त्री पोखरेलले परीक्षा परिणाम छिटो प्रकाशन गर्ने वातावरण निर्माण, विश्वविद्यालयको सम्पत्ति तथा भौतिक पूर्वाधारको प्रभावकारी उपयोग र सेवाप्रवाहलाई सरल तथा प्रविधिमैत्री बनाउन जोड दिए। विश्वविद्यालयको विकास केवल भवन र पूर्वाधार निर्माणमा सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र आधुनिक सेवाप्रवाहसँग जोडिनुपर्ने उनको भनाइ थियो।

उनले विश्वविद्यालयका समस्या र प्राथमिकताका विषयमा मन्त्रालयबाट आवश्यक सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयले अघि सारेका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा प्राथमिकतासहित अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई आधुनिक र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताए। प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सुधारका कामलाई तीव्रता दिइने उनले उल्लेख गरे।

अन्तर्क्रियामा विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन र पूर्वाधार विकासबारे पनि छलफल भएको थियो। स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित बनाउन अस्पताल सञ्चालनलाई विश्वविद्यालयले महत्वपूर्ण योजनाका रूपमा अघि सारेको जानकारी गराइएको थियो।

कार्यक्रममा विद्यार्थीलाई गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइको अवसर विस्तार गर्ने, प्रशासनिक प्रक्रिया सरल बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा विश्वविद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।

मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरीका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरेका थिए। त्यस क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रम कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत समस्या तथा सुझावबारे जानकारी लिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button