३० भाद्र २०८३, मंगलवार

गणेश चतुर्थीमा सूर्यविनायक मन्दिरमा श्रद्धालुको घुइँचो

ड्रागन मिडिया सम्वाददाता

गणेश चतुर्थीका अवसरमा भक्तपुरको प्रसिद्ध सूर्यविनायक मन्दिरमा मंगलबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। गणेश भगवानको पूजा तथा दर्शनका लागि भक्तपुरसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन सूर्यविनायक पुगेका छन्।

पर्वका अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा नित्य पूजा सम्पन्न गरिएको छ। श्रद्धालुले गणेश भगवानलाई फूल, अक्षता, दूबो, सिन्दूर, लड्डु तथा विभिन्न फलफूल अर्पण गरी पूजा र दर्शन गरेका छन्। बिहानैदेखि भक्तजनको चाप बढेपछि मन्दिर परिसरमा सुरक्षा र व्यवस्थापनका लागि स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।

हिन्दू धर्मावलम्बीले गणेशलाई विघ्नहर्ता तथा शुभकार्यका देवताका रूपमा पूजा गर्ने भएकाले गणेश चतुर्थीलाई विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ। कुनै पनि शुभकार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा बाधा अड्चन हट्ने र कार्य सफल हुने धार्मिक विश्वास रहेको छ।

गणेश चतुर्थीका दिन विशेषगरी दूबो, सिन्दूर, फूल, फलफूल र मिठाई चढाएर गणेशको पूजा गर्ने चलन छ। सूर्यविनायक मन्दिरमा वर्षभरि नै भक्तजनको चहलपहल हुने गरे पनि गणेश चतुर्थी, मंगलबार तथा अन्य विशेष धार्मिक पर्वका दिन दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।

पर्वका कारण सूर्यविनायक क्षेत्र आसपासका सडक तथा बजारमा पनि चहलपहल बढेको छ। भक्तजनको सहज आवागमन र मन्दिर दर्शनलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले आवश्यक व्यवस्थापन गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button