भक्तपुरको जुद्ध बारुण यन्त्र कार्यालय निरीक्षणमा गृहमन्त्री गुरुङ, ड्रोनबाट आगो नियन्त्रणमा चासो

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङले मंगलबार भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको स्थलगत अवलोकन गर्दै अग्नि नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न सरकारको ध्यान जाने बताएका छन्।
कार्यालय प्रमुख विजय धौभडेलले गृहमन्त्री गुरुङलाई दमकलको वर्तमान अवस्था, उपलब्ध उपकरण तथा अग्नि नियन्त्रणमा देखिएका समस्याबारे जानकारी गराएका थिए। गुरुङले आगलागी नियन्त्रणका लागि ड्रोन प्रविधिसमेत प्रयोगमा आइसकेको उल्लेख गर्दै नेपालमा पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले दमकल सेवामा रहेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
धौभडेलले बेल्जियमको टोलीबाट अग्नि नियन्त्रकलाई तालिम प्रदान हुँदै आएको जानकारी दिँदै कम्तीमा दुईवटा ड्रोन उपलब्ध भए अग्ला भवन तथा कठिन स्थानमा लाग्ने आगो नियन्त्रण गर्न सहज हुने बताए। सरकारले चालु वर्ष प्रविधि तथा उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ। उनले पुराना दमकललाई संरक्षण गरी सङ्ग्रहालय निर्माण गर्न तथा कर्मचारीसम्बन्धी समस्या समाधानमा समेत सरकारको ध्यानाकर्षण गराए।
जुद्ध बारुण यन्त्र कार्यालयको निरीक्षणपछि गृहमन्त्री गुरुङ राति नवदुर्गा मन्दिर पुगेका थिए। उनले दसैँको नवमीका दिन राति बलि दिइने खमेय अर्थात राँगोसम्बन्धी परम्पराबारे जानकारी लिएका थिए। नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा तथा पर्व सञ्चालनका लागि सरकारले आवश्यक चासो र सहयोग दिनुपर्ने बताएका थिए।
गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरी क्षेत्रको समेत अवलोकन गरेका थिए। सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्था तथा स्थानीय आवश्यकताबारे उनलाई जानकारी गराएका थिए।





