१५ कार्तिक २०८३, शनिबार

पत्रकार पक्राउप्रति महामन्त्री राणाको आपत्ति: ‘संविधानभन्दा माथि सरकार पनि छैन’

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी पठाएर त्रसित बनाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राणाले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताएका छन्। समाचारप्रति असहमति वा गुनासो भए प्रेस काउन्सिल नेपाललगायत कानुनी निकाय र स्थापित प्रक्रियामार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ।

“समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी पठाएर त्रसित बनाउने कार्य लोकतान्त्रिक मूल्य र संवैधानिक मर्मविपरीत छ,” राणाले लेखेका छन्।

राज्य सञ्चालन कानुनको शासनअनुसार हुनुपर्ने उल्लेख गर्दै उनले सत्ताको स्वार्थअनुकूल कानुन प्रयोग गर्न नहुने बताएका छन्। कानुन नागरिकलाई नियन्त्रण गर्ने हतियार नभई उनीहरूको अधिकार संरक्षण गर्ने आधार भएको उनको भनाइ छ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोध गर्दै राणाले संविधान पूर्ण रूपमा पालना गर्न सरकारलाई आग्रह गरेका छन्। “स्वतन्त्र प्रेस लोकतन्त्रको पहरेदार हो, सत्ताको नियन्त्रणमा रहने संयन्त्र होइन। संविधानभन्दा माथि सरकार पनि छैन,” उनले लेखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button