३१ भाद्र २०८३, बुधबार

१५औँ महाधिवेशनका सबै तहका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन गगन थापाको आह्वान

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्म हुने अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। मंगलबार जारी अपिलमा उनले विशेष गरी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुँदै छ। त्यसअघि संशोधित कार्यतालिकाअनुसार वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने तयारी छ। बाढीलगायत परिस्थितिका कारण यसअघि तय गरिएको तल्लो तहको कार्यतालिका संशोधन गरिएको थियो।

थापाले महाधिवेशन प्रक्रिया नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार अघि बढिरहेको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक पार्टीमा फरक विचार र मत स्वाभाविक हुने भन्दै असमझदारीलाई संवाद, विधि र स्थापित प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीका अग्रज नेता तथा विभिन्न तहबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने व्यवस्था गरिएको थापाले बताएका छन्। सदस्यता व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढिसकेको र निर्वाचन संरचनाले पनि अधिवेशन सञ्चालनका आवश्यक तयारी गरिरहेको जानकारी उनले दिएका छन्।

विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने व्यवस्था भदौ २८ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट गरिएको पनि थापाले स्पष्ट पारेका छन्। त्यससँगै ती पदाधिकारी तथा सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन सक्ने उनको भनाइ छ।

थापाले महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै निर्धारित कार्यतालिकाअनुसार हुने सबै तहका अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न पार्टीका सबै संरचना, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button