माइतीघरमा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टेन्ट टाँगेर बसिरहेका व्यक्तिहरूलाई प्रहरीले बुधबार बिहान हटाएको छ। रातको समयमा माइतीघर परिसरमा टेन्ट राखेर नबस्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरीले टेन्ट हटाएको जनाएको छ।
प्रहरीका अनुसार रातभर खुला स्थानमा टेन्ट टाँगेर बस्दा सुरक्षा जोखिम बढ्नुका साथै स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले यस्तो कदम चालिएको हो। माइतीघरमा दिउँसो हुने धर्ना, प्रदर्शन तथा अन्य कार्यक्रमलाई भने रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ।
यसअघि माइतीघर परिसरमा धर्नामा बसेका व्यक्तिमध्ये एकजनाले आत्मदाहको प्रयास गरेको र अर्का एकजनाले पनि त्यस्तै प्रयास गर्न खोजेको घटनापछि प्रहरीले राति त्यहाँ बस्न नदिन कडाइ गरेको हो। सम्भावित अप्रिय घटना रोक्न र सुरक्षाको अवस्था नियन्त्रणमा राख्न रातको बसाइ हटाइएको प्रहरीको भनाइ छ।
प्रहरीले मंगलबार नै माइकिङ गर्दै माइतीघर परिसरमा राति टेन्ट टाँगेर नबस्न आग्रह गरेको थियो। त्यसपछि पनि टेन्ट नहटाइएपछि बुधबार बिहान प्रहरी परिचालन गरी परिसर खाली गराइएको हो।





