१ आश्विन २०८३, बिहीबार

कांग्रेस महाधिवेशनमा सबैलाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्छौँ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि अग्रज नेता नछुटून् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताए।

उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइरालालगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। देउवालाई महाधिवेशन उद्घाटनका लागि अनुरोध गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।

प्रवक्ता चालिसेले पार्टीभित्रका असन्तुष्टि र फरक मतलाई छलफलमार्फत सम्बोधन गर्दै महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाइएको दाबी गरे। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको उनले बताए।

‘लोकतन्त्रमा फरक मत हुन सक्छ, तर फरक मतलाई मतमा बदल्नुपर्छ’ भन्ने धारणा राख्दै चालिसेले पार्टीको नेतृत्व र आगामी दिशा महाधिवेशनले वैधानिक प्रक्रियाबाट तय गर्ने बताए। महाधिवेशनलाई पार्टीको एकता र सहभागिताको अभियानका रूपमा अघि बढाउने उनको भनाइ छ।

वडा अधिवेशन सुरु हुन लागेको अवस्थामा उनले देशभरका नेता–कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन आह्वानसमेत गरे।

चालिसेले पार्टीभित्र अहिले विभाजन नभई असन्तुष्टि मात्र रहेको दाबी गरे। ‘यो पार्टीभित्र विभाजन होइन, असन्तुष्टि हो। नेपाली कांग्रेस वैधानिक रूपमा एउटै पार्टी हो र रहिरहने छ,’ उनले भने।

विभिन्न नेताहरूबाट आएका ५ बुँदे, ८ बुँदेलगायत प्रस्ताव तथा सुझावलाई सम्बोधन गर्दै केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले भदौ २८ गते विभिन्न निर्णय गरेको उनले बताए। ती निर्णयको मूल उद्देश्य पार्टीभित्रका असमझदारी र असन्तुष्टिलाई सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्नु रहेको उनको भनाइ छ।

बिहीबारको बैठकलाई निर्वाचनको पूर्वसन्ध्याको बैठकका रूपमा व्याख्या गर्दै चालिसेले अब महाधिवेशनको पूर्वसन्ध्यामा अर्को बैठक बस्ने जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button