१६ कार्तिक २०८३, आईतवार

बेलायतको शाही नौसेना र वायुसेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको इरानको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

इरानले बेलायतको शाही नौसेना र शाही वायुसेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको छ। बेलायती विदेश गुप्तचर सेवा एमआई६ लाई पनि शत्रुतापूर्ण समूहका रूपमा वर्गीकरण गरिएको इरानी विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयको वक्तव्यअनुसार, राष्ट्रिय सुरक्षा र हितविरुद्ध जासुसी तथा इजरायल र शत्रुतापूर्ण देशसँग सहकार्य गरेमा सजाय कडा पार्ने कानुनको दफा १ को उपदफा २ अन्तर्गत एमआई६ लाई शत्रुतापूर्ण समूह मानिएको छ। वक्तव्य प्रकाशित भएको मितिदेखि उक्त कानुनका प्रावधान एमआई६ मा लागू हुने इरानको भनाइ छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले बेलायतका पछिल्ला एक वर्षका कथित शत्रुतापूर्ण गतिविधिको जवाफस्वरूप यी कदम चालेको मन्त्रालयले जनाएको छ। ती गतिविधिमा इरानविरुद्ध अमेरिका र इजरायलले गरेको युद्धमा सहभागी हुँदै बेलायतले आफ्नो भूमिमा रहेका सैन्य अखडा र सुविधा उपलब्ध गराएको आरोप पनि समावेश छ।

इरानी विदेश मन्त्रालयले सन् २०२६ को राज्यविरुद्धका खतरा कानुनअनुसार जुलाई १३ मा इरानको सशस्त्र बलको विशिष्ट एकाइ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने बेलायतको निर्णयलाई पनि उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार, अमेरिकी निर्णयसँग सम्बन्धित प्रतिकारात्मक उपायसम्बन्धी कानुनअन्तर्गत बेलायतको शाही नौसेना र शाही वायुसेनालाई आतङ्कवादी सङ्गठन मानिएको हो। यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बेलायती सरकारकै हुने इरानले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button