म्यान्मारकी चर्चित हात्तीको ७३औँ जन्मदिनले फर्कायो पुस्तौँदेखिका सम्झना

ड्रागन मिडिया समाचार कक्ष
याङ्गुन चिडियाखानाकी चर्चित पोथी एसियाली हात्ती मोमो ७३ वर्षकी भएकी छन्। आइतबार उनको जन्मदिन मनाउन बालबालिका, अभिभावक र ज्येष्ठ नागरिक चिडियाखानामा भेला भएका थिए।
बालबालिका र दर्शकले ‘जन्मदिनको शुभकामना’ गीत गाउँदा मोमोले सुँड हल्लाइन् र खुट्टा चलाइन्। उनी पनि उत्सवमा सहभागी भएजस्तै देखिन्थिन्। त्यसपछि फलफूल र तरकारीबाट केकको आकारमा सजाइएको खानेकुरा उनले खाइन्।
केही आगन्तुकले पहिलोपटक मोमोलाई देखेका थिए। अरूका लागि भने उनको जन्मदिन बाल्यकालमा चिडियाखाना आएर मोमोलाई हेरेका दिनको सम्झना ताजा गर्ने अवसर बन्यो। उनीहरूले ती सम्झना आफ्ना छोराछोरी र नातिनातिनासँग पनि बाँडिरहेका छन्।
११ वर्षीया थुता न्यन क्यवालका लागि आमा र दिदीसँग चिडियाखाना जानु किताबमा मात्र पढेको हात्तीलाई प्रत्यक्ष देख्ने रोमाञ्चक अवसर थियो।
“पहिले मैले हात्तीलाई किताबमा मात्र देखेकी थिएँ। अहिले प्रत्यक्ष देख्न र तिनीहरू कसरी चल्छन् तथा के खान्छन् भन्ने बुझ्न पाएँ। यहाँ आउनुअघि मलाई मोमोबारे थाहा थिएन। आज उहाँबारे सिक्न र जन्मदिनको उत्सवमा सहभागी हुन पाउँदा म धेरै खुसी छु,” उनले भनिन्।
“मोमो लामो समय स्वस्थ भएर बाँचून्। जन्मदिनको शुभकामना, मोमो!” उनले थपिन्।
६० वर्षीया थिदा सोएका लागि मोमोलाई फेरि देख्नु बाल्यकालमा फर्किएजस्तै थियो।
“म सानैदेखि मोमोलाई चिन्छु र उनलाई हेर्न चिडियाखाना जाने गर्थें। उनलाई देख्दा बाल्यकालका धेरै सम्झना फर्किन्छन्,” उनले भनिन्।
“मोमो जनावर भए पनि मानिसहरूले उनलाई मानिसलाई जस्तै माया गर्छन् र जन्मदिन मनाउँछन्। उनी निकै शान्त स्वभावकी छन्। उमेर बढेसँगै उनी पहिलेझैँ सक्रिय हुन सक्दिनन्, तर ७३ वर्षसम्म बाँच्नु ठूलो कुरा हो। मानिसमध्ये पनि सबैले त्यति लामो जीवन पाउँदैनन्,” उनले भनिन्।
याङ्गुन चिडियाखानाका प्रमुख थान मिन्त तुनका अनुसार सन् १९६१ मा मोमोलाई याङ्गुन चिडियाखानामा ल्याइएको थियो। दशकौँको अवधिमा उनी सानी प्रदर्शनकारी हात्तीबाट सबैले माया गर्ने हजुरआमाजस्ती हात्ती र चिडियाखानाकी चिनारी बनेकी छन्।
सानो उमेरमा मोमोले नाच र प्रदर्शनमार्फत आगन्तुकलाई मनोरञ्जन दिने गर्थिन्। श्वेदागोन प्यागोडाको भर्याङ उद्घाटन समारोहलगायतका महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रममा पनि उनले सहभागिता जनाएकी थिइन्।
“मोमोले २०१३ मा ६० वर्ष पुगेपछि प्रदर्शन गर्न छोडिन्। त्यसयता हामीले हरेक वर्ष उनको जन्मदिन मनाउँदै आएका छौँ। अहिले उनी ७३ वर्षकी भएकी छन्,” थान मिन्त तुनले भने।
“मोमोलाई सर्वसाधारणले धेरै माया गर्छन्। उनी याङ्गुन चिडियाखानाको चिनारीमध्ये एक हुन्। उनको जन्मदिन मनाउँदा हात्ती र तिनको स्वभावबारे जनचेतना फैलाउन पनि सकिन्छ,” उनले थपे।
चार वर्षभन्दा बढी समयदेखि मोमोको हेरचाह गर्ने जिम्मेवारी थान्त सिन तुनले सम्हाल्दै आएका छन्। उनले यो जिम्मेवारी आफ्ना वरिष्ठ सहकर्मीबाट पाएका हुन्।
“मोमो शिष्ट र शान्त स्वभावकी छन्। उमेर बढेपछि उनको धैर्य केही कम भएको छ। उनलाई हप्काएको मन पर्दैन, त्यसैले हामीले नरम स्वरमा बोल्नुपर्छ,” उनले भने।
“हामीले नाम लिएर बोलाउँदा उनी प्रतिक्रिया दिन्छिन्। नाच्न भन्यौँ भने नाच्छिन्,” उनले थपे।
मोमोलाई सफा रहन मन पर्छ। खानेकुरा भुइँमा खसेर बालुवासँग मिसिएमा उनी खान मान्दिनन्। धाराको पानी पिउन र नुहाउँदा शरीर मिचेर सफा गर्न पनि उनलाई मन पर्छ।
उमेरसँगै केही शारीरिक समस्या देखिएका छन्। उनको दृष्टि धमिलो भएको छ र कडा खानेकुरा पहिलेझैँ चपाउन सक्दिनन्। उमेरका कारण देखिएका यी परिवर्तनबाहेक उनलाई ठूलो स्वास्थ्य समस्या नरहेको हेरचाहकर्ताले बताए।
चिडियाखानामा मोमोले नियमित स्वास्थ्य परीक्षण र हेरचाह पाउँछिन्। जङ्गली हात्तीले जस्तो आफैँ खानेकुरा खोज्नुपर्ने वा वनमा हुने केही जोखिम सामना गर्नुपर्ने अवस्था उनलाई छैन।
“उनी बोल्न सक्थिन् भने, ‘यहाँ धेरै मानिसले मलाई माया गर्छन् र मेरो स्वास्थ्यको हेरचाह गर्छन्, त्यसैले म यहाँ अझ लामो समय बाँच्न चाहन्छु’ भन्थिन् होला,” थान्त सिन तुनले भने।





