अस्ट्रेलियामा संरक्षण भिसासम्बन्धी निर्णय पुनरावलोकन गर्न अग्रिम शुल्क

ड्रागन मिडिया समाचार कक्ष
अस्ट्रेलियामा अधिकांश संरक्षण भिसासम्बन्धी निर्णय पुनरावलोकन गराउन निवेदन दिनेहरूले अब निवेदन दर्ता गर्दा नै १ हजार ८६३.५० अस्ट्रेलियन डलर शुल्क बुझाउनुपर्ने भएको छ। अस्ट्रेलियाको प्रशासनिक पुनरावलोकन न्यायाधिकरणले आइतबारदेखि नयाँ व्यवस्था लागू भएको जनाएको छ। यो रकम करिब १ हजार ३०० अमेरिकी डलर बराबर हो।
अस्ट्रेलियाको आप्रवासन नियमावली, १९९४ मा गरिएको संशोधनपछि नोभेम्बर १ देखि लागू भएको यो व्यवस्था संरक्षण भिसा अस्वीकार वा रद्द गर्ने निर्णय तथा संरक्षणसम्बन्धी निष्कर्ष फिर्ता लिने केही निर्णयको पुनरावलोकनका लागि लागू हुनेछ। अब पुनरावलोकनको प्रक्रिया सकिएपछि होइन, निवेदन दर्ताकै बेला शुल्क तिर्नुपर्छ।
आप्रवासन हिरासतमा रहेका गैरनागरिक र शुल्क बुझाइसकिएको अर्को निवेदनसँग आफ्नो निवेदन जोड्न मिल्ने आवेदकलाई शुल्कबाट छुट दिइनेछ। पुनरावलोकनमा सफल हुने वा निवेदन अमान्य ठहरिने आवेदकले बुझाएको शुल्क पूरै फिर्ता पाउनेछन्। तर नोभेम्बर १ वा त्यसपछि निवेदन फिर्ता लिएमा अत्यन्त सीमित अवस्थामा मात्र शुल्क फिर्ता हुनेछ।
नोभेम्बर १ अघि अनलाइन निवेदन शुरु गरे पनि उक्त मितिको मध्यरातअघि बुझाउन नसकेका आवेदकले नयाँ निवेदन प्रक्रिया शुरु गरी अग्रिम शुल्क तिर्नुपर्नेछ। नोभेम्बर १ अघि दर्ता भएका निवेदनमा भने पुरानै व्यवस्था लागू हुनेछ—पुनरावलोकनमा असफल भए मात्र सामान्यतया शुल्क बुझाउनुपर्नेछ।





