२ आश्विन २०८३, शुक्रबार

चीनको उन्नत उत्पादन क्षेत्र विस्तार र सुदृढ बनाउन सी चिनफिङको जोड

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ आधुनिकीकरणलाई बलियो आधार प्रदान गर्न उन्नत उत्पादन क्षेत्रको निरन्तर विस्तार र सुदृढीकरणमा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीको पछिल्लो निर्देशन बेइजिङमा आयोजित उन्नत उत्पादनसम्बन्धी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको हो।

सीले उच्च गुणस्तरीय विकास र सुरक्षालाई समान महत्व दिँदै बुद्धिमत्तायुक्त, हरित र एकीकृत उत्पादन प्रणालीको विकास तीव्र बनाउनुपर्ने बताएका छन्। उनले औद्योगिक श्रृंखलाको आत्मनिर्भर क्षमता बढाउनुका साथै बाह्य जोखिम सामना गर्न सक्ने लचिलो आपूर्ति प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। चीनले उन्नत उत्पादनलाई आधार बनाएर आधुनिक औद्योगिक प्रणाली निर्माण र वास्तविक अर्थतन्त्रको जग थप बलियो बनाउने लक्ष्य अघि सारेको छ।

यस वर्षको पहिलो आठ महिनामा चीनका प्रमुख औद्योगिक प्रतिष्ठानको मूल्य अभिवृद्धि उत्पादन वार्षिक आधारमा ५.३ प्रतिशतले बढेको छ भने उच्च प्रविधियुक्त उत्पादन क्षेत्रको वृद्धि १४.२ प्रतिशत पुगेको छ। अगस्टमा उपकरण उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि उत्पादन १२.१ प्रतिशत र उच्च प्रविधियुक्त उत्पादन १६.७ प्रतिशतले बढेको थियो। सोही महिना औद्योगिक रोबोट उत्पादनमा ३४.६ प्रतिशत वृद्धि भएको छ।

सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले उन्नत उत्पादन क्षेत्रको विकासलाई प्रमुख रणनीतिक कार्यका रूपमा अघि बढाउनुपर्ने बताए। विज्ञहरूका अनुसार कृत्रिम बुद्धिमत्ता, ठूला तथ्याङ्क, बुद्धिमत्तायुक्त उपकरण र रोबोट प्रविधिको औद्योगिक प्रयोगले उत्पादन क्षमता, सटीकता र स्वचालन बढाइरहेको छ। हरित उत्पादनले दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता निर्माण गरिरहेको छ भने नयाँ प्रविधिलाई परम्परागत उद्योगसँग एकीकृत गर्ने प्रक्रियाले समग्र औद्योगिक रूपान्तरणलाई गति दिएको छ।

चीनको रणनीति परम्परागत उत्पादन उद्योगलाई विस्थापित गर्नेभन्दा त्यसलाई बुद्धिमत्तायुक्त र हरित प्रविधिमार्फत स्तरोन्नति गर्ने दिशामा केन्द्रित देखिन्छ। यससँगै महत्वपूर्ण प्रविधिमा स्वदेशी क्षमता विस्तार, बाह्य श्रोतमा अत्यधिक निर्भरता घटाउने तथा औद्योगिक र आपूर्ति श्रृंखलाको जोखिम प्रतिरोधी क्षमता बढाउने लक्ष्य राखिएको छ। यद्यपि यस्तो आत्मनिर्भरतालाई विश्वव्यापी औद्योगिक सहकार्यबाट पृथक हुने नीतिका रूपमा नभई महत्वपूर्ण प्रविधिको वैकल्पिक आपूर्ति क्षमता सुदृढ गर्दै अन्तर्राष्ट्रिय बजार र सहकार्यमा निरन्तर सहभागी हुने रणनीतिका रूपमा व्याख्या गरिएको छ।

यस रूपान्तरणको प्रत्यक्ष प्रभाव रोबोटिक्स क्षेत्रमा देखिन थालेको छ। एजीबोटको जिनी जी२ मानवाकार रोबोट च्याङसी प्रान्तको नानछाङस्थित ट्याब्लेट उत्पादन लाइनमा सटीक सामग्री राख्ने र निकाल्ने काममा प्रयोग भइरहेको छ। कम्पनीका अनुसार यसको कार्य सफलताको दर ९९ प्रतिशत पुगेको छ। डिप रोबोटिक्सले पनि कृत्रिम बुद्धिमत्तालाई गति नियन्त्रण, वातावरण पहिचान र स्वचालित दिशानिर्देशनसँग एकीकृत गरी ऊर्जा, विद्युत निरीक्षण र आपतकालीन कार्यजस्ता जटिल क्षेत्रमा रोबोट प्रयोग विस्तार गरिरहेको छ।

शनचनको करिब २८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको “रोबोट भ्याली” मा दुई सयभन्दा बढी रोबोटिक्ससम्बन्धी कम्पनी एकत्रित भएका छन्। तीमध्ये २५ भन्दा बढी मानवाकार रोबोट उत्पादक छन्। कृत्रिम बुद्धिमत्ता मोडल, स्पर्श संवेदक, लाइडार, सर्वो मोटर, संयुक्त मोड्युल, रोबोटिक हातदेखि अत्यन्त दक्ष कृत्रिम हातसम्मको औद्योगिक श्रृंखला त्यहाँ विकास भइरहेको छ। महत्वपूर्ण उपकरणको स्थानीयकरण दर ९० प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ।

उन्नत उत्पादनको विस्तार रोबोटिक्समा मात्र सीमित छैन। सीआर४५० उच्च गतियुक्त रेलले सम्पूर्ण सवारी परीक्षण पूरा गरेको छ भने चुक्वे ३ वाई२ पुनःप्रयोगयोग्य प्रक्षेपण यानको पहिलो चरण जमिनमा पुनःअवतरण गराइएको छ। चीनमा निर्मित दोस्रो ठूलो क्रुज जहाज “अडोरा फ्लोरा सिटी” नोभेम्बरमा हस्तान्तरण गर्ने तयारी गरिएको छ। यी उपलब्धिलाई चीनको उच्चस्तरीय उपकरण उत्पादन र प्राविधिक नवप्रवर्तन क्षमताको विस्तारसँग जोडेर हेरिएको छ।

हरित उत्पादन पनि आगामी औद्योगिक रणनीतिको महत्वपूर्ण आधार बनेको छ। सन् २०२६ देखि २०३० सम्मको पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा चीनले ५०० वटा शून्य कार्बन कारखाना विकास गर्ने योजना बनाएको छ। इस्पात, अलौह धातु र पेट्रोकेमिकललगायत परम्परागत उद्योगमा स्वच्छ कच्चा पदार्थ र इन्धन प्रयोग, उत्पादन संरचनाको सुधार तथा न्यून कार्बन प्रविधिको व्यापक प्रयोगलाई प्रोत्साहन गरिनेछ। सन् २०३० सम्म विभिन्न तहका हरित कारखानाको उत्पादन प्रमुख उत्पादन प्रतिष्ठानहरूको कुल उत्पादनको ४५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

विशाल घरेलु बजार, पूर्ण औद्योगिक प्रणाली, ठूलो इञ्जिनियरिङ जनशक्ति र विविध औद्योगिक प्रयोग क्षेत्रलाई चीनको उन्नत उत्पादन विकासका प्रमुख आधार मानिएको छ। यसले अनुसन्धान र विकासबाट ठूलो परिमाणको व्यावसायिक उत्पादनसम्म पुग्ने समय छोट्याउन सहयोग गरिरहेको छ। उत्पादनको आकार विस्तारमा आधारित पुरानो ढाँचाबाट उच्च प्रविधि, गुणस्तर, नवप्रवर्तन र औद्योगिक पारिस्थितिक प्रणालीमा आधारित विकासतर्फ भइरहेको रूपान्तरणले चीनको उत्पादन क्षेत्रलाई विश्वव्यापी मूल्य श्रृंखलाको उच्च तहमा पुर्‍याउने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button