कालीगण्डकी कटान रोक्न घरापमा बस्ती संरक्षण योजना, स्थानीयलाई राहत

ड्रागन मिडिया सम्वाददाता
कालीगण्डकी नदीको कटानबाट बस्ती जोगाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढाइएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। नदीकिनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण र ठूला ढुङ्गाबाट र्यापिङ गरिएपछि यस वर्ष कटान नियन्त्रणमा आएको स्थानीयले बताएका छन्।
घरापका बासिन्दा सुदीपकुमार विकका अनुसार विगतमा बाढी र नदी कटानको जोखिम रहेको क्षेत्रमा संरक्षण संरचना निर्माण भएपछि यसपालि कटान रोकिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत योजना कार्यान्वयन गरिएको हो। इञ्जिनियर नरजङ्ग गुरुङका अनुसार बाढी तथा कटान रोकथामका लागि नदीकिनारमा ९४ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिएको छ।
पर्खालको जगदेखि दुई मिटर माथिसम्म चार मिटर फराकिलो आरसिसी संरचना निर्माण गरी त्यसमाथि पलम पर्खाल लगाइएको छ। त्यसको माथिल्लो भागमा ग्यावियन जाली राखिएको छ। उक्त कामका लागि केटी/जेएसआर जेभीले २०८२ साल फागुन २५ गते एक करोड नौ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
यसैगरी थप ९५ मिटर क्षेत्रमा ठूला ढुङ्गा राखेर नदीको बहाव र बाढीको प्रभाव कम गर्न र्यापिङ गरिएको छ। उक्त कामका लागि एमपी निर्माण सेवाले १२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। संरक्षण संरचनाले तत्कालका लागि बस्तीको जोखिम घटाए पनि स्थानीय निलगिरि आधारभूत विद्यालयको भवन क्षेत्रसमेत नदी कटानबाट जोगाउन थप योजना आवश्यक रहेको स्थानीय प्रेमबहादुर तिलिजाले बताएका छन्।
मुस्ताङ जाने वैकल्पिक पदमार्ग तथा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ। सुन्तलाका बगैँचासमेत रहेको यस क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्र कार्यालय र निलगिरि आधारभूत विद्यालय अवस्थित छन्। बस्ती, विद्यालय, कृषि क्षेत्र र अन्य पूर्वाधारको दीर्घकालीन सुरक्षाका लागि कालीगण्डकी किनारमा संरक्षण कार्यलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ।





