२ आश्विन २०८३, शुक्रबार

दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने दाहालको चेतावनी

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने तयारी भइरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले चाडपर्वपछि देशको समग्र परिस्थिति मूल्यांकन गरेर आन्दोलनको स्वरूप तय गरिने बताए।

दाहालले वर्तमान सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोबासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी र ट्रेड युनियनसँग आबद्ध पक्षमाथि दमन र ज्यादती गरेको आरोप लगाए। त्यसविरुद्ध बृहत संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनमा जानुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको बताए।

उनका अनुसार संसद्भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने प्रयास भइरहेको छ भने सडक आन्दोलनका लागि पनि व्यापक राजनीतिक तथा सामाजिक मोर्चा निर्माण गर्ने तयारी छ। चाडपर्वको अवधिमा समेत त्यससम्बन्धी तयारी जारी राख्ने र त्यसपछि विकसित राजनीतिक परिस्थितिका आधारमा आन्दोलन अघि बढाउने उनको भनाइ थियो।

दाहालले वर्तमान सरकारप्रति जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको र स्थापित राजनीतिक दल, नेता तथा उनीहरूका एजेन्डाप्रति पुनः आकर्षण बढिरहेको दाबीसमेत गरे। देशका विभिन्न क्षेत्रमा पुग्दा आफ्नो पार्टीप्रति जनसमर्थन बढिरहेको अनुभूति भएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ पुगेर आफ्ना एजेन्डा स्पष्ट गर्न आग्रह गरे।

सरकारले नागरिकको पक्षमा अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै दाहालले आगामी आन्दोलनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, मजदुर, किसान तथा अन्य सरोकारवाला पक्षलाई समेट्ने संकेत गरे। उनले आन्दोलनको तयारी जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने र त्यसका लागि व्यापक सहकार्य आवश्यक रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button