२ आश्विन २०८३, शुक्रबार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

ड्रागन मिडिया सम्वाददाता

सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन, अनुसन्धान, नेतृत्व तथा कार्यानुभव भएका व्यक्तिलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ। संयुक्त अधिराज्यका लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णलाई प्रस्ताव गरिएको छ।

त्यस्तै स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा र मलेसियाका लागि चूडामणि खरेलको नाम सिफारिस गरिएको छ। दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूत नियुक्तिका लागि अघि सारिएको छ।

मन्त्रिपरिषद्को सिफारिससँगै उनीहरू तत्काल राजदूत नियुक्त भइसकेका भने होइनन्। अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट कूटनीतिक सहमति अर्थात अग्रिमो मागिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया छ।

लामो समयदेखि विभिन्न महत्वपूर्ण नेपाली कूटनीतिक नियोग राजदूतविहीन रहेको अवस्थामा सरकारले एकैपटक १३ देशका लागि नाम सिफारिस गरेको हो। भारत, चीन, अमेरिका, बेलायत र जापानजस्ता नेपालको कूटनीतिक, आर्थिक तथा रणनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण देशसमेत यस चरणको सिफारिसमा समेटिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button