चीनबाट ६ सैन्य कार्गो विमानमा राहत सामग्री, विज्ञ टोली र प्रविधिगत सहयोग प्राप्त

ड्रागन मिडिया सम्वाददाता
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीन सरकारले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि ६ वटा सैन्य कार्गो विमानमार्फत विभिन्न सामग्री उपलब्ध गराएको औपचारिक जानकारी दिएका छन्। उनका अनुसार चीनबाट ड्रोन, डीएनए परीक्षण किट, पीसीआर मेसिन, शव सुरक्षित राख्ने फ्रिजर, टेन्ट, भाँडाकुँडालगायत उद्धार, राहत तथा फोरेन्सिक कार्यमा आवश्यक सामग्री प्राप्त भएका छन्।
मन्त्री पुनका अनुसार चीन सरकारले अनुदानस्वरूप दुई लाख अमेरिकी डलर नगद तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप दुई लाख अमेरिकी डलर उपलब्ध गराएको छ। यसबाहेक रेडक्रसमार्फत करिब दुई लाख अमेरिकी डलर बराबरका राहत सामग्रीसमेत प्राप्त भएका छन्। विपद व्यवस्थापनमा प्राविधिक सहयोगका लागि चीनबाट ६ जना विपद राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। फोरेन्सिक विज्ञहरू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमा कार्यरत रहेको उनले जानकारी दिए।
कठिन र जोखिमपूर्ण अवस्थामा त्रिशूली क्षेत्रमा सञ्चालन गरिएको उद्धार कार्यमा चिनियाँ विज्ञ टोलीले पुर्याएको सहयोगको मन्त्री पुनले विशेष प्रशंसा गरेका छन्। चीनबाट प्राप्त कृत्रिम बुद्धिमत्ता तथा स्याटेलाइट डाटाले विपद प्रभावित क्षेत्रको अवस्था पहिचान, अनुगमन र उद्धार कार्यमा महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गर्दै उनले प्रविधिमा आधारित विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।
मन्त्री पुनले ‘माजु प्रणाली’मार्फत प्राप्त हुने वास्तविक समयको डाटाको प्रभावकारी उपयोग तथा नेपाल र चीनबीच विपदसम्बन्धी डाटा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। विपदका समयमा राहत सामग्री मात्र नभई विशेषज्ञ जनशक्ति, फोरेन्सिक क्षमता, स्याटेलाइट सूचना र प्रविधिगत सहयोगसमेत प्राप्त भएकाले यस्तो सहकार्य भविष्यको विपद पूर्वतयारी तथा प्रतिकार्य क्षमताका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा चीन सरकारले गरेको सहयोगप्रति मन्त्री पुनले नेपाल सरकारका तर्फबाट औपचारिक धन्यवाद व्यक्त गरेका छन्। उनले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने चिनियाँ सरकार तथा नेपालमा खटिएका चिनियाँ विज्ञ टोलीप्रति हृदयदेखि कृतज्ञता प्रकट गरेका छन्।





