संविधानका उपलब्धि जनताको जीवनमा अनुभूत हुनुपर्छ : प्रचण्ड

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्न एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
दाहालले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। संविधानका प्रावधानलाई औपचारिक कार्यान्वयनमा सीमित नराखी त्यसको मर्म नागरिकले दैनिक जीवनमा अनुभूत गर्ने अवस्था निर्माण गर्नुपर्ने उनको भनाइ छ।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै दाहालले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
दाहालले संविधानलाई कानुनी दस्तावेजमा मात्र सीमित रूपमा नहेरी नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्। संविधानले सुनिश्चित गरेका अधिकारलाई नागरिकको जीवनस्तरमा देखिने आर्थिक तथा सामाजिक उपलब्धिसँग जोड्न सके मात्र राजनीतिक परिवर्तनको उद्देश्य सार्थक हुने उनको सन्देश छ।





