नेपालमा लगानी विस्तार गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

ड्रागन मिडिया सम्वाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न तथा विद्यमान लगानी विस्तार गर्न आह्वान गरेका छन्। नेपालमा लगानीका लागि उपयुक्त समय आएको उल्लेख गर्दै उनले देशको आर्थिक रूपान्तरणमा भारतीय निजी क्षेत्रलाई सक्रिय साझेदार बन्न आग्रह गरेका हुन्।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका अवसर रहेको बताए। उनले नेपालमा यसअघि नै सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारमा प्रवेश गर्न प्रोत्साहित गरे।
नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको कार्यसूचीमा अघि बढिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारलाई तीव्रता दिइएको बताए। लगानीकर्ताका लागि अनुमानयोग्य, पारदर्शी र व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, स्वास्थ्य तथा आरोग्य पर्यटन र उत्पादन साझेदारीमा आधारित उद्योगलाई नेपालको अर्थतन्त्रका उदीयमान क्षेत्रका रूपमा प्रस्तुत गरे। भारतीय व्यवसायीहरूले नेपाललाई उपभोक्ता बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति श्रृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए।
वार्षिक बजेट, कर सुधार र लगानीमैत्री नीतिगत पहलमार्फत सरकारले व्यावसायिक वातावरण सुधार गर्ने, लगानीका अवरोध हटाउने र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास गरिरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। विशेषगरी ऊर्जा, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रमा नेपाल–भारत आर्थिक साझेदारी विस्तारको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उनको भनाइ थियो। कार्यक्रममा सहभागी भारतीय व्यावसायिक नेताहरू तथा सीआईआईका सदस्यहरूले नेपालमा उपलब्ध लगानीका अवसरप्रति रुचि व्यक्त गर्दै लगानी नीति, सुविधा, क्षेत्रगत सम्भावना र व्यावसायिक वातावरणबारे थप जानकारी मागेका थिए।
अन्तरक्रियाका क्रममा सम्भावित सहकार्यका क्षेत्रहरूबारे छलफल भएको थियो। नेपाल सरकार र भारतीय निजी क्षेत्रबीचको सम्बन्ध सुदृढ गर्दै थप लगानी तथा व्यावसायिक साझेदारीका अवसर पहिचान गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा विपदपछिको पुनर्निर्माणलाई सुदृढ बनाउने विषयमा भारतीय अधिकारीहरू, व्यावसायिक नेतृत्व र नीतिगत समुदायसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।





