३ आश्विन २०८३, शनिबार

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीपछि बेपत्ता भएका नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ। भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका थामीको शव फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो। उनका पिता डीलबहादुर थामीले प्रतीकात्मक शवमा दागबत्ती दिएका थिए।

दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा विसं २०४२ जेठ १४ गते जन्मिएका थामी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। पत्रकारितामा स्नातकोत्तर गरेका उनले एचबिसी एफएम, सगरमाथा टेलिभिजन र एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिका दैनिकमा लामो समय काम गरेका थिए। उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण र लेखनमा पनि योगदान पुर्‍याएका थिए।

थामी गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत थिए। उनी नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य, नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए। पत्रकारितासँगै थामी समुदायको भाषा, संस्कृति र पहिचानका विषयमा पनि उनी सक्रिय थिए।

चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङमा भदौ १० गतेका लागि निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलमा रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए। त्यसपछि आएको भोटेकोशी बाढीका क्रममा उनी सम्पर्कविहीन भएका थिए।

अन्त्येष्टिका क्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले थामीको प्रतीकात्मक शवमा महासङ्घको झण्डा ओढाएकी थिइन्। नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता र थामी समुदायका लागि उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरुङ र आनन्द पोखरेल, राष्ट्रिय समाचार समिति तथा नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक र कानुन क्षेत्रका अगुवा तथा थामीका सहकर्मीहरूको उपस्थिति थियो।

थामी राष्ट्रिय समाचार समितिकी पत्रकार कालिका खड्काका श्रीमान् थिए। उनको प्रतीकात्मक अन्त्येष्टिसँगै परिवार, सहकर्मी र पत्रकारिता क्षेत्रले दुई दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय एक पत्रकारलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button