३ आश्विन २०८३, शनिबार

एसियन गेम्समा ऐतिहासिक पदक जित्ने लक्ष्यसहित जापान जाँदै नेपाली क्रिकेट टोली

ड्रागन मिडिया सम्वाददाता

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एसियन गेम्समा ऐतिहासिक पदक जित्ने लक्ष्यसहित नेपाली टोली जापान प्रस्थान गर्न लागेको बताएका छन्। शनिबार आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले पछिल्ला प्रतियोगितामा खेलाडीहरूको प्रदर्शन, टोलीभित्रको आपसी समझदारी र अन्तर्राष्ट्रिय अनुभवका आधारमा पदक जित्ने विश्वास व्यक्त गरे।

कप्तान ऐरीले मलेसियामा हालै सम्पन्न प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै एसियन गेम्सका लागि अधिकांश खेलाडी उत्कृष्ट लयमा रहेको बताए। विशेषगरी कुशल भुर्तेल र आसिफ शेखको पछिल्लो प्रदर्शन उत्साहजनक रहेको उनको भनाइ छ। नेपालले यसअघि एसियन गेम्सको क्रिकेट प्रतियोगितामा पदक जित्न नसकेको स्मरण गर्दै उनले यसपटक नयाँ इतिहास रच्ने अवसर रहेको बताए।

नेपाली क्रिकेटको समग्र विकासबारे चर्चा गर्दै ऐरीले नेपाल प्रिमियर लिगमा अस्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरसहित अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सहभागिताले घरेलु क्रिकेटको स्तर र आकर्षण बढाउने विश्वास व्यक्त गरे। विदेशी व्यावसायिक लिगमा स्थापित खेलाडीहरू नेपाल आउनुले नेपाली खेलाडीलाई अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा नेपालको पहिचान विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले एसियन गेम्समा नेपाल केवल सहभागिता जनाउन नभई प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। श्रीलंका र भारतजस्ता बलिया टोलीसँग सम्भावित प्रतिस्पर्धा चुनौतीपूर्ण हुने स्वीकार गर्दै उनले टी–२० क्रिकेटमा कुनै पनि टोलीले उत्कृष्ट प्रदर्शनमार्फत अप्रत्याशित नतिजा निकाल्न सक्ने उल्लेख गरे।

प्रशिक्षक लका अनुसार एसियन गेम्समा पदक जित्ने लक्ष्य कठिन भए पनि असम्भव छैन। एसियाका पाँच प्रमुख क्रिकेट राष्ट्र नेपालभन्दा माथिल्लो स्तरमा रहेको उल्लेख गर्दै उनले पदकसम्म पुग्न नेपाली टोलीले आफ्नो क्षमताको उच्चतम प्रदर्शन गर्नुपर्ने बताए। उत्कृष्ट खेल, सामूहिक प्रयास र प्रतिस्पर्धाका निर्णायक क्षणमा सही निर्णयले नेपालको पदक यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २६ मा आयोजक जापानसँग पहिलो खेल खेल्ने कार्यक्रम छ। नेपाल, अफगानिस्तान र जापान समूह ‘ए’ मा रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button