४ आश्विन २०८३, आईतवार

छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध, स्वास्थ्य शिविरमा जाने नागरिक अलपत्र

ड्रागन मिडिया सम्वाददाता

हुम्लाको सर्केगाड गाउँपालिका २, रिप नजिकैको छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब एक सय मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने सदरमुकाम सिमकोटमा आयोजना हुने स्वास्थ्य शिविरमा सहभागी हुन हिँडेका नागरिकसमेत प्रभावित भएका छन्।

अदानचुली गाउँपालिका २ का कमल बुढाका अनुसार स्वास्थ्य शिविरमा उपचार गराउन सिमकोटतर्फ गएका २७ जनाभन्दा बढी नागरिक पहिरोका कारण बीच बाटोमै अलपत्र परेका छन्। श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट हिँडेका बुढा पनि छारेभिरमा सडक अवरुद्ध भएपछि अघि बढ्न सकेनन्। उनीसहितका यात्रु सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने प्रतीक्षामा छन्। सडक समयमै सञ्चालनमा नआए स्वास्थ्य शिविरमा पुगेर उपचार गराउन नसकिने चिन्ता उनीहरूमा छ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन आवश्यक पहल भइरहेको जानकारी दिएका छन्। उनका अनुसार पहिरोसँगै सडकमा ठूलाठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै अवरोध हटाउन सम्भव छैन। करिब एक सय मिटर सडक क्षेत्रमा थुप्रिएका ढुङ्गा फुटाएर हटाउनुपर्ने भएकाले आवश्यक उपकरण र जनशक्ति परिचालन गर्नुपर्ने अवस्था छ।

सडक सञ्चालनका लागि सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, उपलब्ध अन्य गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको गुरागाईँले बताए। आइतबार बिहानदेखि अवरोध हटाउने काम शुरु गर्ने तयारी गरिएको छ। दुर्गम क्षेत्रमा आवश्यक उपकरण तथा साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ। निरन्तर काम अघि बढाएर मंगलबार दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

कर्णाली करिडोर हुम्लाका नागरिकको आवतजावत, स्वास्थ्य सेवामा पहुँच तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिका लागि महत्त्वपूर्ण सडकमार्ग हो। वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। सडक बन्द हुँदा यात्रुहरूको आवागमन मात्र नभई उपचारका लागि अन्यत्र जानुपर्ने बिरामी तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button