माथिल्लो त्रिशूली आयोजनाको अडिट–३ सुरुङबाट २४ शव निकालिए, ४४ जनाको टोली खोजीमा

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये शनिबारसम्म २४ जनाको शव निकालिएको छ। हालसम्मका सबै शव आयोजनाको अडिट–३ सुरुङबाट फेला परेका हुन्। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा भग्नावशेष हटाउने कार्य जारी छ।
शनिबार उद्धार टोलीले अडिट–३ सुरुङको अपस्ट्रिमतर्फ रहेको स्टिल ग्यान्ट्री फर्मवर्क हटाएको छ। खोजीका लागि बाटो खुलाउन करिब २०० किलोग्राम स्टिल सामग्री हटाइएको हो। सुरुङभित्र स्टिल र रिबारमा अड्किएका सामग्री तथा अवशेष हटाउँदै सम्भावित स्थानमा खोजी अघि बढाइएको छ।
खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका कर्मचारीसहित ४४ जनाको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले उपलब्ध उपकरण र जनशक्तिको प्रयोग गरी सुरुङभित्रको अवरोध हटाउने तथा पहुँच विस्तार गर्ने काम गरिरहेको छ।
डाउनस्ट्रिमतर्फ खोजीलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुर परिचालन गर्ने तयारी गरिएको छ। मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी भग्नावशेष हटाउने काम पनि अघि बढाइएको छ। सुरुङभित्र पहुँच कठिन रहेकाले अवरोध हटाउँदै चरणबद्ध रूपमा खोजी जारी राखिएको छ।





