ओलीलाई हटाउने बहसबीच झाँक्रीको सन्देश : संकटमा एकअर्काको खुट्टा तान्नु थप कमजोर हुनु हो

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको विषयमा विवाद चर्किरहेका बेला नेतृ रामकुमारी झाँक्रीले संकटको समयमा एकअर्कालाई कमजोर बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छिन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा सहमति जुट्न नसकिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिलाई ओलीको नेतृत्व परिवर्तनसम्बन्धी बहससँग जोडेर हेरिएको छ।
झाँक्रीले राजनीतिक प्रतिस्पर्धा बलियो र सक्षम व्यक्तिसँग गर्नुपर्ने उल्लेख गर्दै सबैजना एउटै संकटमा परेका बेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको अर्थ नरहने बताएकी छिन्। उनले संकटलाई बाढीको विम्बसँग तुलना गर्दै कोही हिलोमा गाडिएको, कोही भग्नावशेषमुनि पुरिएको र कोही अरूको सहारामा उठ्ने प्रयास गरिरहेको अवस्थामा एकअर्कालाई कमजोर बनाउनु उचित नहुने आशय व्यक्त गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो। कसैलाई ढुंगा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो। बेसहारा हुनु हो।’
एमालेभित्र निर्वाचन पराजयको जिम्मेवारी, नेतृत्व हस्तान्तरण र सांगठनिक पुनर्गठनका विषयमा फरक धारणा सार्वजनिक भइरहेका बेला झाँक्रीको अभिव्यक्ति आएको हो। पार्टीले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको १५ सदस्यीय कार्यदलले साझा प्रतिवेदन तयार गर्न नसक्दा विवाद थप जटिल बनेको छ।
कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमा अध्यक्ष ओलीले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव समेटिएको समाचार सार्वजनिक भएको छ। त्यसको प्रतिवादमा कार्यदल संयोजक थापाले ओलीको नेतृत्व निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै दस्तावेजलाई एकीकृत गर्ने प्रयास सफल नभएपछि कार्यदलका सदस्य नरहेका नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार गरेका छन्।
अध्यक्ष ओलीको निर्देशनमा तयार गरिएको ज्ञवालीको २९ पृष्ठको प्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी प्रस्ताव हटाइएको बताइएको छ। कार्यदलका केही सदस्यले भने कार्यदल बाहिरबाट तयार गरिएको दस्तावेजको वैधानिकतामाथि प्रश्न उठाएका छन्। यसले निर्वाचन समीक्षाबाट शुरु भएको छलफललाई नेतृत्वको भविष्य र पार्टीको संस्थागत निर्णय प्रक्रियासम्म पुर्याएको छ।
यसैबीच झाँक्रीले पार्टी संकटमा रहेका बेला आन्तरिक प्रतिस्पर्धाभन्दा एकअर्कालाई सहारा दिने राजनीतिक व्यवहार आवश्यक रहेको सन्देश दिएकी छिन्। उनको अभिव्यक्तिमा ओलीको नाम प्रत्यक्ष उल्लेख नभए पनि नेतृत्व परिवर्तनको बहस तीव्र बनेकै समयमा आएको प्रतिक्रियाले एमालेको आन्तरिक राजनीतिमा ध्यान आकर्षित गरेको छ।
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार गर्ने अन्तिम प्रतिवेदन र त्यसमा पार्टी नेतृत्वले लिने निर्णयले आगामी सांगठनिक प्रक्रियाको दिशा निर्धारण गर्नेछ।





