४ आश्विन २०८३, आईतवार

नयाँ विद्युतीय प्रणालीबाट लाइसेन्स छपाइ शुरु, मधेशका तीन हजार ८१ अनुमतिपत्र वितरणका लागि पठाइए

ड्रागन मिडिया सम्वाददाता

सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ शुरु गरेको छ। लामो समयदेखि लाइसेन्स छपाइ र वितरणमा देखिएको समस्या समाधान गर्दै सेवाग्राहीलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको हो।

यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणालीमा प्रविष्ट भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ। केन्द्रले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। यसबाट नयाँ अनुमतिपत्र प्राप्त गर्ने तथा पुरानो नवीकरण गर्ने सेवाग्राहीले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ।

पहिलो चरणमा मधेश प्रदेशका तीन हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको विभागले जनाएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ।

सोही व्यवस्थाअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी लाइसेन्स छपाइ अघि बढाएको छ। लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार केन्द्रसँग सम्झौता गरी अनुमतिपत्र छपाइ प्रक्रिया शुरु गरेको छ। सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता नगरेका प्रदेशमा भने सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग तथा केन्द्रको समन्वयमा छपाइको व्यवस्था मिलाइनेछ।

नयाँ प्रणालीले लाइसेन्स छपाइ तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउँदै प्रदेश सरकारको जिम्मेवारी र सेवा प्रवाहबीच समन्वय सुदृढ गर्ने अपेक्षा गरिएको छ। यसबाट लामो समयदेखि अनुमतिपत्रको प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत पुग्नुका साथै यातायात प्रशासनको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button