जनकपुरमा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ, अन्यको खोजी जारी

ड्रागन मिडिया सम्वाददाता
जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक सरोज साहमाथि ड्युटीका क्रममा हातपात तथा कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रसूतिका लागि अस्पताल आएकी महिलाको शल्यक्रियामा लापरबाही भएको आरोप लगाउँदै उनका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ निवासी २० वर्षीय विजय मुखिया र जनकपुर उपमहानगरपालिका–८ निवासी २६ वर्षीया सुधिरा मुखिया बिन रहेका छन्। दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आरोपितहरूविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) अन्तर्गत अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास पनि जारी रहेको उनले बताएका छन्।
प्रहरीका अनुसार उक्त ऐनअन्तर्गत कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। पक्राउ परेका व्यक्तिहरूमाथिको आरोप भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुङ्गो लाग्न बाँकी छ।
गत बिहीबार अस्पतालको प्रसूति केन्द्रमा उपचारका लागि आएकी महिलाका आफन्तले शल्यक्रियामा लापरबाही भएको आरोप लगाउँदै ड्युटीमा रहेका चिकित्सक साहमाथि हातपात तथा कुटपिट गरेको बताइएको छ। घटनापछि अस्पतालका चिकित्सकहरू विरोधमा उत्रिएका थिए। उनीहरूले उपचारमा लापरबाही भएको आशङ्का भए सम्बन्धित निकायमा उजुरी दिन सकिने भए पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु अस्वीकार्य भएको बताएका छन्।
चिकित्सकहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारवाही र अस्पतालमा सुरक्षित कार्यस्थलको सुनिश्चितता माग गरेका छन्। अस्पतालमा यसअघि पनि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना भएको भन्दै उनीहरूले उपचार सेवामा खटिएका कर्मचारीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।





