५ आश्विन २०८३, सोमबार

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा जिल्ला र प्रदेशस्तरीय छनोट असोजमै

ड्रागन मिडिया सम्वाददाता

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत कर्णाली प्रदेशमा जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोट असोजमै सम्पन्न गरिने भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट प्रतियोगिताको मिति र स्थान निर्धारण गर्दै जिल्लास्तरबाट प्रक्रिया शुरु गर्ने जनाएको छ।

परिषद्का अनुसार जिल्लास्तरीय छनोट असोज १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशका दश जिल्लालाई समेटेर पाँच जना संयोजक तोकिएका छन्। हुम्ला र मुगुका लागि गोर्खबहादुर शाही, कालिकोट र जुम्लाका लागि पञ्चबहादुर मल्ल, दैलेख र जाजरकोटका लागि पवनकुमार थापा, सल्यान र रुकुम पश्चिमका लागि भीमकुमारी भुसाल तथा सुर्खेत र डोल्पाका लागि किरणकिशोर सापकोटालाई संयोजनको जिम्मेवारी दिइएको छ।

जिल्लास्तरीय छनोट पूरा भएपछि असोज २६ देखि ३१ गतेसम्म प्रदेशस्तरीय छनोट हुनेछ। दैलेखमा कराँते, एफसी कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबल टेनिस, रुकुम पश्चिममा महिला कबड्डी र जुम्लामा डब्लूटीएफ तेक्वान्दोको छनोट गरिनेछ। हुम्लामा महिला भलिबल र हक्की, मुगुमा पुरुष कबड्डी, कालिकोटमा पुरुष भलिबल तथा डोल्पामा चेसको प्रदेशस्तरीय छनोट हुनेछ। बाँकी खेलको छनोट सुर्खेतमा सञ्चालन गरिने परिषद्ले जनाएको छ।

कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने तय गरिएको छ। यसअघि निर्धारित मिति कार्यान्वयन हुन नसकेपछि राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बोर्ड बैठकले चौथो पटक प्रतियोगिताको मिति परिवर्तन गरेको हो। जिल्ला र प्रदेश तहबाट चरणबद्ध छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीको टोली तयार गर्ने योजना रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button