प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै, राष्ट्रसंघ महासभामा जलवायु परिवर्तनको असर उठाउने

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार अमेरिका प्रस्थान गर्दै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित न्युयोर्क जान लागेका हुन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालको राष्ट्रिय प्राथमिकता, जलवायु परिवर्तनका असर र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाइने अपेक्षा गरिएको छ।
गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई प्रधानमन्त्री शाहले महासभामा विशेष रूपमा उठाउने भएका छन्। हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, प्राकृतिक विपदको प्रभाव र नेपालजस्ता पर्वतीय मुलुकले सामना गरिरहेका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उनको तयारी छ।
रसुवा बाढीले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिमसँग जुध्न पूर्वसूचना प्रणाली, विपद पूर्वतयारी, उद्धार क्षमता र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता पुनः उजागर गरेको छ। प्रधानमन्त्रीको सम्बोधनमा नेपालले भोगेको मानवीय तथा भौतिक क्षतिसँगै जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका आवश्यकता र सरोकार प्रस्तुत हुने अपेक्षा गरिएको छ।





