६ आश्विन २०८३, मंगलवार

प्रतिनिधिसभामा नागरिक लगानी कोष संशोधन विधेयक प्रस्तुत हुँदै, चार संसदीय समितिका बैठक पनि आजै

ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभाको बैठक आज मंगलबार अपराह्न १ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैबीच संघीय संसद्का विभिन्न चार समितिका बैठक पनि आजै बस्ने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक निर्धारित छन्। ती बैठकमा आर्थिक कानुन, विधि विज्ञान प्रयोगशाला, लगानी वातावरण तथा पुस्तकालय नीतिसम्बन्धी विषयमा छलफल हुनेछ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ। समितिले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग पनि छलफल गर्ने कार्यसूची तय गरेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ। समितिले नेपालमा स्वदेशी तथा वैदेशिक, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानी वातावरणमा पारेको प्रभाव र राष्ट्रिय तथा प्रादेशिक लगानी सम्मेलनको व्यवस्थापनबारे छलफल गर्नेछ। उपयुक्त लगानी वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार पनि बैठकको कार्यसूचीमा समेटिएका छन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्नेछ। उक्त बैठकमा प्रस्तावित पुस्तकालय नीतिको मस्यौदाबारे विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button