भोजपुरका नौवटै स्थानीय तहमा खोरेतविरुद्ध खोप अभियान सञ्चालन हुँदै

ड्रागन मिडिया सम्वाददाता
भोजपुरमा गाईभैँसीमा लाग्ने खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यले जिल्लाव्यापी खोप अभियान सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिनेछ।
केन्द्रका प्रमुख पुष्पराज दाहालले अभियानका लागि ६१ हजार डोज खोप प्राप्त भएको जानकारी दिए। पशुपालक किसानलाई सहज सेवा उपलब्ध गराउन खोपकर्ता किसानकै गोठमा पुगेर पशुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ। अभियान सञ्चालनका लागि ७६ जना खोपकर्तालाई खोपको अभिलेखीकरणसम्बन्धी सफ्टवेयर प्रयोगबारे एकदिने तालिम दिएर स्थानीय तहमा परिचालन गरिएको छ।
दाहालका अनुसार अभियानको उद्देश्य खोरेत रोग नियन्त्रण गर्नुका साथै पशुजन्य उत्पादन बढाउनु र पशुपालक किसानलाई आर्थिक क्षतिबाट जोगाउनु हो। रोगका कारण पशुको स्वास्थ्य र उत्पादनमा पर्ने असर कम गर्न नियमित खोप तथा समयमै उपचार आवश्यक रहेको केन्द्रले जनाएको छ।
कार्यालयले पहिलो चरणको अभियान सम्पन्न भएपछि दोस्रो चरणको खोप कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ। खोपसँगै पशुमा लाग्ने रोग, तिनका लक्षण, रोकथाम र उपचारबारे किसानलाई जानकारी गराउने कार्यक्रम पनि अघि बढाइनेछ।
भोजपुरका ग्रामीण क्षेत्रमा धेरै परिवार पशुपालनमा निर्भर छन्। पशुरोग र उपचारबारे पर्याप्त जानकारी नहुँदा किसानले समस्या भोग्दै आएको उल्लेख गर्दै केन्द्रले खोप अभियानबाट पशुधनको संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।





