पूर्वप्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिएको घटनाप्रति एमाले महासचिव पोखरेलको आपत्ति

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राति घरबाट प्रहरी कार्यालय लगिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले राणालाई नियन्त्रणमा लिनुको कानुनी आधार र उनीमाथि लागेको अभियोग सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रमाण र अभियोगबिना कसैलाई नियन्त्रणमा लिनु संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत हुने बताएका छन्। उनले राणालाई घरबाट लैजाने कार्यलाई गैरकानुनी र स्वेच्छाचारी भएको दाबी गर्दै राज्यका निकायले स्थापित कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्।
प्रहरीले भने राणामाथि सुरक्षा जोखिम रहेकाले उनलाई कार्यालयमा ल्याइएको जनाएको छ। राणालाई पछि परिवारको जिम्मा लगाएर घर पठाइएको छ। उनलाई प्रहरी कार्यालय लैजानुपर्ने सुरक्षा जोखिमको प्रकृति र त्यस क्रममा अपनाइएको कानुनी प्रक्रियाबारे विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।





