२७ कार्तिक २०८३, बिहीबार

गुटेरेसद्वारा जलवायु कार्य तीव्र बनाउन विश्व नेताहरूलाई आग्रह

ड्रागन मिडिया समाचार कक्ष

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट तीव्र हुँदै गएको भन्दै हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु कार्यलाई गति दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्।

टर्किएस्थित अन्ताल्यामा आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले सन् २०२५ मा उत्सर्जन उच्च बिन्दुमा पुगेको र पछिल्ला चार वर्ष रेकर्डमा रहेका सबैभन्दा ताता वर्ष बनेको बताए। जीवाश्म इन्धनबाट केही समूहले नाफा कमाए पनि त्यसको ठूलो मूल्य विश्वले चुकाइरहेको उनको भनाइ थियो।

उनले न्यायपूर्ण ऊर्जा सङ्क्रमण, मानिस र समुदायको संरक्षण, सहज जलवायु वित्त तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समेट्ने नयाँ ‘जलवायु न्याय सम्झौता’ आवश्यक रहेको बताए।

गुटेरेसले सन् २०३५ सम्म नवीकरणीय ऊर्जाको क्षमता तीन गुणा बढाउन, कोइलामा आधारित ऊर्जा घटाउन र विकासशील देशलाई आवश्यक वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन आह्वान गरे।

अत्यधिक नाफा कमाउने जीवाश्म इन्धन कम्पनीमाथि कर लगाएर जलवायु जोखिममा रहेका देशको पुनरुत्थानमा खर्च गर्नुपर्नेमा पनि उनले जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button