२७ कार्तिक २०८३, बिहीबार

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

ड्रागन मिडिया सम्वाददाता

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर र कोदोलगायत तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्य पनि ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर ७० करोड रुपैयाँमा झरेको छ।

धान आयातमा पनि कमी आएको छ। अघिल्लो आवको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो आयात भएको छ। यसको आयात मूल्य एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

मकै आयात पनि घटेको भन्सार कार्यालयको तथ्याङ्क छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएको थियो। चालु आवमा यो घटेर ६७ लाख ३६ हजार ४३७ किलोमा झरेको छ। मकै आयातको मूल्य एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँ कायम भएको छ।

फापर, कोदो र अन्य खाद्यान्नको आयातसमेत घटेको छ। अघिल्लो आवको पहिलो तीन महिनामा यी खाद्यान्न २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा १६ लाख ४० हजार ५५५ किलो आयात भएको भन्सार कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button