तिहारमा श्रमदान गरेर सडक मर्मत

ड्रागन मिडिया सम्वाददाता
म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाले श्रमदान गरेर गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मत गरेका छन्।
न्यू देविस्थान युथ क्लबको आयोजनामा मङ्गलबार भएको अभियानमा क्लबका पदाधिकारी र सदस्य, आमा समूहका प्रतिनिधि तथा स्थानीय अग्रज सहभागी भएका थिए। उनीहरूले सडकमा जमेको माटो र ढुङ्गा हटाउनुका साथै झाडी सफा गरी आवश्यक मर्मतसम्भार गरेका हुन्।
बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयलाई आवतजावत र सामान ढुवानीमा समस्या परेको थियो। सरकारी निकायको प्रतीक्षा गर्दा काम अघि नबढेपछि युवाले मर्मतको अगुवाइ गरेको क्लबले जनाएको छ।
क्लबका सचिव सुभास पुन मगरका अनुसार अभियानमा ३० जना युवा सहभागी थिए। तिहार मनाउन गाउँ आएका युवाले आफ्नो समुदायमा योगदान गर्ने उद्देश्यले श्रमदान गरेका हुन्।
सडक मर्मतका लागि ट्र्याक्टर भाडा र खाजाको खर्चमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले आर्थिक सहयोग गरेका क्लबले जनाएको छ। खाजामा १० हजार ७९० रुपैयाँ खर्च भएको थियो।





