पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत पूरा

ड्रागन मिडिया सम्वाददाता
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत पूरा भएको छ।
आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार पोखराको काम आगामी वैशाखभित्र र भरतपुरको काम आगामी मङ्सिरभित्र सक्ने लक्ष्य छ। भरतपुरमा काम अन्तिम चरणमा पुगेको उनले बताए।
पोखरामा २२३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने योजना छ। हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ भने ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाह भइरहेको छ। पहिलो चरणमा मुख्य सहरी क्षेत्र र पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकता दिइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्मका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालनमा आएको छ। सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याइएको छ।
लेकसाइडका भित्री सडकमा तार बिछ्याउने काम पूरा भए पनि केही स्थानमा विद्युत् प्रवाह गर्न बाँकी छ। सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै तालबाराही मन्दिरतर्फ जाने सडकका केही खण्डमा काम भइरहेको छ। सेतीपुल निर्माणाधीन रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारबाट विद्युत् प्रवाह गर्न नसकिएको सुवेदीले बताए। पुल निर्माण अन्तिम चरणमा पुगेकाले बाँकी क्षेत्रमा पनि छिट्टै सेवा सञ्चालन हुने उनको भनाइ छ।
आयोजनाअन्तर्गत मुख्य राजमार्गसँगै सहायक सडकमा पनि विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ। यससँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर बिछ्याइएको छ। भूमिगत प्रणाली सञ्चालन भएका स्थानमा पुराना विद्युत् पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा दिने लक्ष्य छ।
भरतपुरमा १५६.३३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने योजना रहेकामा १५५.३७ किलोमिटरमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइरहेको छ। भरतपुरमा एक हजार २०० घरधुरीलाई भूमिगत प्रणालीबाट सेवा पुर्याउने लक्ष्य रहेको सुवेदीले बताए।
अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।
भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले सन् २०२२ जनवरीमा आयोजनाको निर्माण ठेक्का पाएको थियो। एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरको वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरिरहेको छ।





