गच्छे–भालुबाङ सडक निर्माण तीव्र, दूरी ४७ किलोमिटर छोटिने

ड्रागन मिडिया सम्वाददाता
लुम्बिनी प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाइएको गच्छे–भालुबाङ सडक निर्माणले गति लिएको छ। सडक पूरा भएपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट प्रदेश राजधानी भालुबाङसम्मको दूरी करिब ४७ किलोमिटर छोटिनेछ।
गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने सडकको लम्बाइ ७३ किलोमिटर छ। अहिले सन्धिखर्कबाट गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ। नयाँ सडक सञ्चालनमा आएपछि यात्रा करिब ७३ किलोमिटरमा सीमित हुनेछ।
सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा गिट्टी बिछ्याउने काम पूरा भएको छ। विभिन्न खण्डमा कालोपत्र, गिट्टी बिछ्याउने र आवश्यक संरचना बनाउने काम भइरहेको छ। गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र गरिएको थियो।
चालु आर्थिक वर्षमा दुई खण्डमा काम भइरहेको छ। अम्मर एसियाली मल्लरानी संयुक्त निर्माण समूहले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडक कालोपत्र गर्ने र आवश्यक संरचना बनाउने काम गरिरहेको छ। यसका लागि करिब तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
अर्को करिब ९.५ किलोमिटर खण्डमा पनि कालोपत्रको काम अघि बढेको छ। निर्माण व्यवसायी कविराम खनालका अनुसार उक्त खण्डको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। यसका लागि प्रदेश र सङ्घीय सरकारले चालु आर्थिक वर्षमा पाँच–पाँच करोड गरी कुल १० करोड रुपैयाँ छुट्याएका छन्। निर्माण व्यवसायीले चालु आर्थिक वर्षभित्रै काम पूरा गर्ने लक्ष्य राखेको जनाएको छ।
सडक बनेपछि अर्घाखाँचीका साथै गुल्मी, प्युठान र पाल्पाका बासिन्दालाई प्रदेश राजधानी पुग्न सहज हुनेछ। शितगङ्गा नगरपालिकाका वडा नं. ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं. ९ र १० हुँदै सडक जाने भएकाले ती क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
यसले स्वास्थ्य उपचार, शिक्षा, सरकारी सेवा र व्यापारका लागि हुने यात्रा सहज बनाउनेछ। गाउँमा उत्पादित तरकारी, फलफूल, दूध र अन्य कृषि उपज बजारसम्म पुर्याउन पनि मद्दत पुग्नेछ। सडक पहुँच विस्तारसँगै स्थानीय व्यापार, होटल र पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
सम्पूर्ण सडक कालोपत्र गरी पूरा गर्न थप बजेट आवश्यक छ। उपलब्ध अनुमानअनुसार त्यसका लागि करिब एक अर्ब रुपैयाँ लाग्न सक्छ। जिल्लावासीले सडक निर्माण पूरा गर्न पर्याप्त बजेट, प्रभावकारी अनुगमन र कामको निरन्तरता सुनिश्चित गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेका छन्।





