२६ कार्तिक २०८३, बुधबार

तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछ : मुख्यमन्त्री आचार्य

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहारले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक तथा सांस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन्।

तिहार २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तिहारलाई नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्वका रूपमा उल्लेख गरेका छन्। काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले मानव, प्रकृति र प्राणी जगतबीचको सम्बन्ध तथा जीवजन्तुप्रतिको सम्मान र कृतज्ञता झल्काउने उनको भनाइ छ।

लक्ष्मीपूजा, भाइटीका र देउसी–भैलोले पारिवारिक आत्मीयता र सामाजिक एकताको सन्देश दिने मुख्यमन्त्री आचार्यले बताएका छन्। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ। देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक हित र रचनात्मक कार्यमा उपयोग गर्ने परम्परा महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको उनले उल्लेख गरेका छन्।

आचार्यले मुलुकका समस्या र चुनौतीको दीर्घकालीन समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुशासनबाट सम्भव हुने बताएका छन्। त्यसका लागि सबै पक्षबीच एकता, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनले जनाएका छन्।

तिहारको सद्भाव, अनुशासन र सहयोगको सन्देश आत्मसात् गर्दै प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताएका छन्।

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को लक्ष्य हासिल गर्न कृषि, पशुपालन, उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उनको सन्देशमा उल्लेख छ। युवा पुस्ताको सोच, चाहना र सम्भावनालाई सम्बोधन गर्न आत्मनिर्भरता, उद्यमशीलता र नवप्रवर्तनमा आधारित विकासमा पनि सरकारले जोड दिएको उनले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button