दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
ड्रागन मिडिया सम्वाददाता
भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजनका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने मन्दिरमा भक्तजनले पूजा, दर्शन र टीका लगाउने गर्छन्।
बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
दिदीबहिनी वा दाजुभाइ नहुनेले जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि पूजा, दर्शन गरी टीका लगाउने परम्परा रहेको संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले बताए।
टण्डनका अनुसार विसं २०३५ अघि रानीपोखरीमा हामफालेर मन्दिर पुग्ने समस्या देखिएपछि बालगोपालेश्वर मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुन्थे। अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गरेको छ।
विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि पुनर्निर्माणका क्रममा विसं २०७७ सम्म दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर फेरि भक्तजनका लागि खुला गरिएको हो।
नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउँछन्। कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार मंगलबार नै किजापूजा गरेका छन्।





