२६ कार्तिक २०८३, बुधबार

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीको मालिका गाउँपालिका–६ स्थित बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी जलाधार क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा मर्मत थालिएको हो।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछिको बाढीले सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको थियो। दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने आसपासको बस्तीसमेत जोखिममा परेको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार सडक मर्मतका लागि जलविद्युत आयोजनाले डोजर र टिप्पर परिचालन गरेका छन्। मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जालीमा ढुङ्गा भरेर तत्कालका लागि सडक सञ्चालन गर्ने काम गरिरहेको उनले बताए।

प्रदेश सरकारले प्रारम्भिक मर्मतका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। दीर्घकालीन समाधान र दुखुबेँसी बस्ती संरक्षणका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता भौतिक पूर्वाधारमन्त्री नन्दप्रसाद न्यौपानेले बालौटे क्षेत्रको निरीक्षणका क्रममा जनाएको जुग्जालीले बताए।

म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोलासहितका जलविद्युत आयोजनाले सडक मर्मतमा उपकरण परिचालन गरेर सहयोग गरेका छन्। अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटेमा कटान भएर सडक भत्किएको हो।

सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ मार्गको यातायात प्रभावित भएको छ। तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए।

उनका अनुसार सडकको दिगो समाधानका लागि मर्मतसँगै बस्ती संरक्षण पनि आवश्यक छ। साँघुरो र कच्ची वैकल्पिक सडकको उकालो–ओरालोसमेत उपयुक्त नभएकाले ठूला सवारीसाधनलाई एकआपसमा आवतजावत गर्न कठिन भइरहेको छ।

बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यस सडकमा म्याग्दीखोला जलाधार क्षेत्रमा निर्माणाधीन छवटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण बोकेका सवारीसाधनको चाप पनि छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button