२६ कार्तिक २०८३, बुधबार

सामूहिक सुरक्षा सन्धि सङ्गठनको क्षमता र सहकार्य सुदृढ गर्ने निर्णय

ड्रागन मिडिया समाचार कक्ष

रुसका विदेशमन्त्री सर्गेइ लावरोभको अध्यक्षतामा सामूहिक सुरक्षा सन्धि सङ्गठनका विदेशमन्त्री परिषद्, रक्षामन्त्री परिषद् र सुरक्षा परिषद्का सचिवहरूको समितिको संयुक्त बैठक नोभेम्बर १० मा मस्कोमा बसेको छ।

सङ्गठनका महासचिव तालात्बेक मसादिकोभ पनि सहभागी बैठकमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा छलफल भएको थियो। सहभागीहरूले सङ्गठनको जिम्मेवारी क्षेत्र र छिमेकी भूभागको अवस्थाबारे विचार आदानप्रदान गर्दै सुरक्षा चुनौतीको सामना गर्न सहकार्य बढाउने प्रतिबद्धता दोहोर्‍याए।

बैठकमा द्वन्द्वको जोखिम, आतङ्कवादी गतिविधि, लागुऔषध ओसारपसार, अवैध आप्रवासन तथा सूचना र सञ्चार प्रविधिसम्बन्धी अपराध बढिरहेको विषयमा चर्चा भयो। यी चुनौतीको सामना गर्न सङ्गठनको क्षमता थप बलियो बनाउनुपर्नेमा सहभागीहरू सहमत भएका छन्।

सहभागीहरूले सामूहिक सुरक्षा परिषद्को स्वीकृतिका लागि प्रस्तुत गरिने विभिन्न दस्तावेजको समीक्षा गरे। सङ्गठनका क्षमता विस्तार गर्ने निर्णयहरूमा सामूहिक हवाई सेना र हवाई सुरक्षा प्रणालीको विकास तथा सङ्गठनको जिम्मेवारी क्षेत्रमा जैविक सुरक्षा सुनिश्चित गर्ने उपाय समावेश छन्। उनीहरूले शिखर सम्मेलनको अन्तिम घोषणासहित संयुक्त राजनीतिक वक्तव्यहरूलाई पनि अनुमोदन गरे।

सामूहिक सुरक्षा सन्धि सङ्गठनको संसदीय सभाले २०औँ वार्षिकोत्सव मनाउँदै गर्दा बैठकमा अन्तरसंसदीय सहकार्य सुदृढ गर्ने विषयले विशेष प्राथमिकता पायो। सहभागीहरूले सङ्गठनको संसदीय सभासम्बन्धी सम्झौताको मस्यौदा अनुमोदन गरे।

सन् २०२७ मा सामूहिक सुरक्षा सन्धिमा हस्ताक्षर भएको ३५ वर्ष र सामूहिक सुरक्षा सन्धि सङ्गठन स्थापना भएको २५ वर्ष पूरा हुँदैछ। यी वार्षिकोत्सवका अवसरमा राष्ट्रप्रमुखहरूको हस्ताक्षरका लागि कार्यक्रम योजना तयार गरिएको छ।

सङ्गठनका स्थायी निकायमा कर्मचारी व्यवस्थापनसम्बन्धी दस्तावेज राष्ट्रप्रमुखसमक्ष पेस गर्ने सहमति पनि बैठकले गरेको छ।

ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दिन मुह्रिद्दिनले सन् २०२७ मा आफ्नो देशले सङ्गठनको अध्यक्षता गर्दा अघि बढाउने प्राथमिकताबारे सहभागीलाई जानकारी गराए। सामूहिक सुरक्षा सन्धि सङ्गठनका विदेशमन्त्री परिषद्को अर्को बैठक सन् २०२७ को पहिलो छ महिनामा ताजिकिस्तानमा बस्ने तय भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button