पर्यटन बोर्डका कार्यकारी प्रमुख छनोटमा पारदर्शितामाथि प्रश्न

ड्रागन मिडिया सम्वाददाता
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ४२ आवेदकमध्ये १६ जनाको संक्षिप्त सूची तयार भएपछि छनोट प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ। बोर्डका पूर्व सञ्चालक समिति सदस्य बैकुण्ठप्रसाद भण्डारीले योग्य तथा अनुभवी उम्मेदवार सूचीमा नपरेको भन्दै मूल्याङ्कनका आधार सार्वजनिक गर्न माग गरेका छन्।
भण्डारीका अनुसार पर्यटन विषयमा विद्यावारिधि गरेका डा. लेखनाथ भण्डारी, डा. ज्ञानेन्द्र रत्न तुलाधर र डा. सूर्यबहादुर घिमिरे प्रारम्भिक सूचीमा परेनन्। यसअघि कार्यकारी प्रमुख छनोटको अन्तिम तीन जनामा परिसकेका पर्यटन क्षेत्रका अनुभवी ज्ञानेश्वरप्रसाद सिंह महतो पनि यसपटक १६ जनाको सूचीमा नपरेको उनले उल्लेख गरेका छन्।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ तथा पर्यटन बोर्ड नियमावली, २०५५ ले कार्यकारी प्रमुखका लागि स्नातकोत्तर उपाधि र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव आवश्यक गरेको भण्डारीले बताएका छन्। उक्त योग्यता र अनुभवका आधारमा उम्मेदवारको मूल्याङ्कन कसरी गरियो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
छनोट समितिमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने तथा निजी क्षेत्रबाट पेम्बा शेर्पा र सहदेव धमला सहभागी छन्। भण्डारीले समितिले शैक्षिक योग्यता, अनुभव र कार्ययोजनालाई दिएको अङ्कभार सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनले ४२ आवेदकमध्ये प्रत्येक उम्मेदवारले कुन शीर्षकमा कति अङ्क पाए भन्ने विवरण सार्वजनिक गर्न र सूचीमा नपरेका उम्मेदवारलाई आफ्नो मूल्याङ्कनको आधार हेर्न पाउने व्यवस्था गर्न माग गरेका छन्। छनोटमा स्वार्थको द्वन्द्व वा बाह्य दबाब नरहेको स्पष्ट पार्नुपर्ने पनि उनको सुझाव छ।
पर्यटन बोर्ड सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित स्वायत्त संस्था भएकाले कार्यकारी प्रमुख छनोटमा व्यावसायिक क्षमता र संस्थाको आवश्यकता प्राथमिक हुनुपर्ने भण्डारीको धारणा छ। उनले मन्त्रालयलाई बोर्डको स्वायत्ततामा हस्तक्षेप नगरी छनोट प्रक्रिया पारदर्शी बनाउन आग्रह गरेका छन्।





