२७ कार्तिक २०८३, बिहीबार

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

ड्रागन मिडिया सम्वाददाता

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पर्यटक र तीर्थयात्रीको आगमन बढ्न थालेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक र पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन, आवागमन सहज हुँदै गएसँगै पुनः चलायमान हुन थालेको हो।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर र साना व्यवसायीलाई राहत पुगेको बताए। बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको र अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको उनले बताए। गाउँपालिकाले पदमार्ग मर्मत तथा पर्यटकको सुरक्षा र सहजताका लागि समन्वय गरिरहेको उनको भनाइ छ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार अवरुद्ध आवागमन सहज भएपछि गोसाइँकुण्ड क्षेत्रमा पर्यटक नियमित रूपमा आउन थालेका छन्। निकुञ्जले प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक र पदमार्गको अवस्था सुधार हुँदै गएपछि तीर्थयात्री तथा पदयात्रीको सङ्ख्या बढेको बताए। स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय आन्तरिक पर्यटक र युवापुस्ता पनि गोसाइँकुण्ड पुग्न थालेका छन्। पहिले जनैपूर्णिमा र गङ्गादशहरामा बढी चहलपहल हुने गरेकोमा अहिले वर्षभरि नै पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेको उनले बताए।

पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके पर्यटनले स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने घलेको भनाइ छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा, गोसाइँकुण्ड गाउँपालिका–६ मा अवस्थित छ। करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको कुण्ड ६२५ दशमलव ५५ मिटर लामो र ३०२ मिटर चौडा छ। यसको गहिराइ २६ मिटर र पानीको परिमाण करिब १४ लाख ७२ हजार घनमिटर रहेको बताइन्छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहिआएको छ। हिन्दू धर्मग्रन्थमा समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ। यसै विश्वासका कारण क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडिन्छ।

गोसाइँकुण्डलाई स्थानीय समुदायले फरक–फरक नामले चिन्ने गरेका छन्। तामाङ समुदायमा ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायमा ‘घ्यो’, तिब्बती समुदायमा ‘छो’ र नेवार समुदायमा ‘शिलु’ भनिन्छ। आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत कुण्ड छन्। अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको संस्कृति पनि यस क्षेत्रका आकर्षण हुन्।

गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वका आधारमा सन् २००७ सेप्टेम्बर २३ मा रामसार सूचीमा सूचीकृत गरिएको थियो। यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन्।

नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा पर्ने गोसाइँकुण्डले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई जोड्छ। जेठ–असारमा गङ्गादशहरा र साउन–भदौमा जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्छ। बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button