जबरा प्रकरणमा जेनजी युवाको प्रश्न : सुरक्षा खतरा दिने को हुन् ?
ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले मध्यरातमा घरबाट टेकुस्थित कार्यालय लगेपछि जेनजी आन्दोलनसँग जोडिएका युवाहरूले जोखिमको श्रोत स्पष्ट पार्न माग गरेका छन्। जबरालाई ‘जेनजीबाट खतरा’ रहेको भनिएपछि उनीहरूले सिङ्गो पुस्तालाई सुरक्षा खतराका रूपमा प्रस्तुत गर्न नहुने बताएका हुन्।
अभियन्ता रक्षा बमले सरकारको असक्षमता ढाकछोप गर्न जेनजीको नाम दुरुपयोग गरिएको आरोप लगाएकी छन्। मिराज ढुंगानाले जबरालाई खतरा दिने जेनजी प्रधानमन्त्री वा गृहमन्त्रीसँग जोडिएका हुन् कि भनेर प्रश्न गरेका छन्। उनीहरूको भनाइमा ‘जेनजी’ भन्ने व्यापक पहिचान प्रयोग गर्नुको सट्टा प्रहरीले खतरा दिने व्यक्ति वा समूहबारे स्पष्ट पार्नुपर्छ।
माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा खतरा दिने भनिएका व्यक्तिबारे जवाफ मागेका छन्। तनुजा पाण्डेले जेनजीको नाम प्रयोग गर्ने केही व्यक्ति अहिले सत्तामा प्रभाव जमाइरहेको आरोप लगाएकी छन्। अर्नब चौधरीले खतरा दिने, पक्राउ परेका, सरकारमा रहेका र सडकमा खबरदारी गरिरहेका युवालाई एउटै समूहका रूपमा प्रस्तुत गर्न नहुने भन्दै ‘कुन चाहिँ जेनजी’ भनेर प्रश्न गरेका छन्।
प्रहरीले भने जबरामाथि आक्रमण हुन सक्ने सूचना आएपछि सुरक्षाका लागि कार्यालयमा ल्याएको र औपचारिक रूपमा पक्राउ नगरेको जनाएको छ। सम्भावित खतराको श्रोतबारे प्रहरीले सार्वजनिक विवरण दिएको छैन। युवाहरूको प्रतिक्रियाले यही अस्पष्टतामाथि प्रश्न उठाएको छ।





