१२ आश्विन २०८३, सोमबार

पहिरो र बाढीले पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा आवागमन प्रभावित

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षापछिको पहिरो, सडक कटान र अस्थायी मार्ग बग्दा पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग प्रभावित हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ स्थित चालिसे र वडा ५ को बाङ्गेमोडमा खसेको लेदोसहितको पहिरो हटाउने काम भइरहेको छ। कृष्णभिरको पहिरो हटाएपछि त्यहाँ एकतर्फी सवारी चलाउन सकिने अवस्था बने पनि चालिसे र बाङ्गेमोडको अवरोध नहटेसम्म राजमार्गमा नियमित आवागमन सम्भव छैन।

प्रहरीका अनुसार बिपी राजमार्ग र कान्ति राजमार्गका विभिन्न खण्ड पनि पहिरो र बाढीबाट प्रभावित छन्। दक्षिणकाली–सिस्नेरी सडकमा साना सवारीसाधन चलाइएका छन् भने ठूला सवारीलाई त्रिभुवन राजपथतर्फ पठाइएको छ। यी मार्गमा सडकको अवस्था हेरेर समयतालिकाअनुसार आलोपालो सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

पहिरो हटाइरहेका बेला फेरि वर्षा भए थप पहिरो खस्न सक्ने जोखिम छ। प्रहरीले चालक र यात्रुलाई यात्रा शुरु गर्नुअघि सम्बन्धित मार्गको पछिल्लो अवस्था बुझ्न, दिइएको ट्राफिक निर्देशन पालना गर्न र अवरुद्ध सडक जबर्जस्ती पार नगर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button