बागलुङमा पहिरोबाट दश जनाको मृत्यु, एक जना बेपत्ता

ड्रागन मिडिया सम्वाददाता
अविरल वर्षापछि बागलुङका विभिन्न स्थानमा खसेको पहिरोमा परी दुई दिनमा दश जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्र प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो। शनिबार ताराखोला गाउँपालिकामा एक जनाको ज्यान गएको थियो।
तमानखोला गाउँपालिका ३ धर्नासुकमा पहिरोले घर पुर्दा बुद्धिराज घर्ती र भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा आठ घर बगेका छन्। वडा ४ सन्तरमा घर पुरिँदा हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ भने हस्तवीरकी श्रीमती बेपत्ता छिन्।
निसीखोला गाउँपालिका ३ जुग्जाखोलाको हदधारामा घर पुरिँदा श्यामकुमारी विक र उनका तीन छोराको मृत्यु भएको छ। वडा ६ रङ्गिलमा पहिरोले गोठ पुर्दा सूर्यबहादुर घर्तीको ज्यान गएको छ। शनिबार ताराखोला गाउँपालिका ५ धस्मरमा घर पुरिँदा मनबहादुर रोकाको मृत्यु भएको थियो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको बताएका छन्। बेपत्ता व्यक्तिको खोजी र प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।





