कालीगण्डकीको बाढीले सञ्चार तार बगाउँदा तीन जिल्लामा सेवा प्रभावित

ड्रागन मिडिया सम्वाददाता
पर्वतको कुश्मा नगरपालिका–१, सहश्रधारामा कालीगण्डकी नदीको बाढीले सञ्चार तार जडान गरिएका खम्बा बगाउँदा म्याग्दी, बागलुङ र मुस्ताङमा आइतबार बिहानदेखि सञ्चार सेवा प्रभावित भएको छ। नेपाल टेलिकमको मोबाइल, स्थिर दूरभाष र इन्टरनेटसँगै निजी कम्पनीहरूको इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो।
नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलका अनुसार बाढीले करिब पाँच सय मिटर फाइबर तार जडान गरिएका चार खम्बा बगाएको हो। वैकल्पिक व्यवस्था गरेर मोबाइल सेवा अस्थायी रूपमा सञ्चालन गरिए पनि आइतबार इन्टरनेट सेवा पुनःस्थापित गर्न सकिएको थिएन।
कालीगण्डकीले मालढुङ्गास्थित पुलको पहुँचमार्ग बगाउँदा प्राविधिक टोली घटनास्थल पुगेर तार मर्मत गर्न नसकेको पौडेलले बताए।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपदका बेला सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान, उद्धार र राहत कार्यमा समस्या परेको बताए। सेवा पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भन्ने स्पष्ट भएको छैन।





