१२ आश्विन २०८३, सोमबार

फार्मेसी परिषदको सदस्य नियुक्तिमा नयाँ नाम थपिएपछि संघले माग्यो छानबिन

ड्रागन मिडिया सम्वाददाता

नेपाल फार्मेसी संघले नेपाल फार्मेसी परिषदको सदस्य नियुक्तिका लागि अन्तर्वार्ता सम्पन्न भइसकेपछि नयाँ नाम थपिएको भन्दै छनोट प्रक्रियामाथि प्रश्न उठाएको छ। संघले पहिले लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक नगरी थप व्यक्ति तथा संस्थालाई सहभागी गराउने निर्णयको कानुनी आधार स्पष्ट पार्न मन्त्रालयसँग माग गरेको छ।

संघका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १७ गते अन्तिम नामावली प्रकाशित गरेको थियो र भदौ १८ गते अन्तर्वार्ता लिएको थियो। त्यसको २१ दिनपछि, असोज ८ गते, ‘भुलवश छुटेको’ भन्दै थप नामका लागि अर्को अन्तर्वार्ताको सूचना निकालिएको संघले जनाएको छ। अन्तिम नामावली र अन्तर्वार्तापछि छनोटको दायरा फेरिनुले प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको उसको भनाइ छ।

संघले परिषदका अध्यक्ष डा. कादिर आलमको विगतको सदस्य नियुक्ति र अहिले थपिएका नामबीच सम्भावित स्वार्थको द्वन्द्वबारे पनि छानबिन माग गरेको छ। आलम आबद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपाल दर्ता भएको केही दिनमै उनी परिषद सदस्य नियुक्त भएको तथा अहिले थपिएको नाममा सोही संस्थाका एक उपाध्यक्ष रहेको संघको दाबी छ।

आफ्नो प्रतिनिधिलाई परिषद सदस्य बनाउन माग नगरेको स्पष्ट पार्दै संघले उम्मेदवारको योग्यता, अनुभव, पेशागत योगदान र क्षमताका आधारमा विधिसम्मत छनोट गर्न आग्रह गरेको छ। नयाँ नाम थप्नुको कारण, त्यसको कानुनी आधार र पहिले सम्पन्न अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्नुपर्ने संघको माग छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button