१२ आश्विन २०८३, सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमिति २३८ सदस्यीय हुने, युवाका लागि २१ स्थान सुनिश्चित

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गरी पार्टीको सांगठनिक संरचना विस्तार गरेको छ। संशोधित व्यवस्थाअनुसार हाल १६४ सदस्यीय केन्द्रीय कार्यसमिति महाधिवेशनपछि २३८ सदस्यीय हुनेछ। केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ भने पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति र अल्पसंख्यकको सहभागिताका लागि पनि व्यवस्था थपिएको छ।

पदाधिकारीको संख्या १४ बाट १७ पुर्‍याइएको छ। सभापतिले महाधिवेशनपछि तीन सहमहामन्त्री मनोनयन गर्न पाउनेछन्, जसमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ। विभिन्न आठ समूहबाट एकएक सहमहामन्त्री निर्वाचित हुने व्यवस्था कायम छ। सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट ६१ पुर्‍याइएको कान्तिपुरले जनाएको छ।

विदेशस्थित जनसम्पर्क समितिबाट एक महिलासहित छ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था पहिलो पटक गरिएको छ। पेसागत विज्ञ र श्रमिकको प्रतिनिधित्वका लागि सात स्थान तथा अल्पसंख्यक र अपांगता भएका व्यक्तिका लागि एकएक स्थान छुट्याइएको छ। पार्टी संगठनबाहिरका विषय विज्ञलाई पनि विशेष प्रक्रियाबाट केन्द्रीय तहमा ल्याउन सकिने महामन्त्री प्रदीप पौडेलले बताएका छन्।

युवाको प्रतिनिधित्व वडा तहदेखि केन्द्रीय तहसम्म विस्तार गरिएको छ। प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन युवा महाधिवेशन प्रतिनिधि हुनेछन्, जसमध्ये एक महिला हुनुपर्नेछ। यसरी १६५ निर्वाचन क्षेत्रबाट कम्तीमा ४९५ युवा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। केन्द्रीय कार्यसमितिका २१ युवा सदस्य प्रदेशबाट १४ र खुलातर्फ सात जना निर्वाचित हुने व्यवस्थाअनुसार आउनेछन्।

विधानले प्रजातन्त्रका सेनानी, सहिद परिवार, द्वन्द्वपीडित र अपांगता भएका व्यक्तिको प्रतिनिधित्वलाई पनि विभिन्न तहमा विस्तार गरेको छ। नयाँ व्यवस्था कार्यान्वयन भएपछि पार्टीको नेतृत्वमा समावेशिता कति बढ्छ भन्ने कुरा आगामी महाधिवेशनको निर्वाचन र मनोनयनबाट स्पष्ट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button