१२ आश्विन २०८३, सोमबार

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको भन्दै भंगहाका नगरप्रमुखले लगाए कार्यालयमा ताला

ड्रागन मिडिया सम्वाददाता

महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजिवकुमार साहले प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि हाजिर नभएको भन्दै सोमबार नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयमा ताला लगाएका छन्। प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले प्रशासनिक र वित्तीय कामकाज प्रभावित भएको उनको भनाइ छ।

साहले प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अत्यावश्यक सेवाबाहेकका कामकाज बन्द गर्ने चेतावनी दिएका थिए। उक्त समयसीमा सकिएपछि कार्यालयहरूमा तालाबन्दी गरिएको हो। तालाबन्दीपछि उनले कार्यालयका साँचो महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्।

भदौ १ गतेको पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले खिमराज भुसाललाई भंगहाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। पत्र जारी भएको लामो समय बित्दा पनि भुसाल हाजिर नभएको नगरप्रमुख साहले बताए। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन पटकपटक मन्त्रालयमा आग्रह गरे पनि समस्या समाधान नभएको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी र पदाधिकारीको तलबभत्ता वितरण, विकास योजना सञ्चालन तथा दैनिक सेवा प्रवाहमा समस्या परेको साहले बताएका छन्। तालाबन्दीपछि नगरपालिका र वडा कार्यालयबाट प्राप्त हुने सेवामा पर्ने प्रभाव र प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाबारे सम्बन्धित निकायले चाल्ने कदम स्पष्ट भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button