राणा प्रकरणमा सांसद दुलालको प्रश्न : धम्की दिनेलाई पक्राउ गर्ने कि धम्की पाउनेलाई ?

ड्रागन मिडिया सम्वाददाता
नेकपाका सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग जवाफ मागेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राणालाई सुरक्षा धम्की आएको भनिएको भए धम्की दिने व्यक्तिमाथि कारवाही हुनुपर्ने बताए।
आइतबार राणालाई जेनजीबाट सुरक्षा धम्की रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो। करिब बाह्र घण्टापछि उनी घर फर्किएका थिए। प्रहरीले भने उनलाई पक्राउ नगरी सुरक्षा दिएको दाबी गरेको छ। दुलालले यही परस्परविरोधी विवरणबारे सरकारले स्थिति स्पष्ट पार्नुपर्ने बताएका हुन्।
‘गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि हुनेलाई गरिन्छ ?’ दुलालले संसदमा प्रश्न गरे। मध्यरातमा राणालाई नियन्त्रणमा लिने सरकारी कदमलाई उनले ‘स्टन्ट’ को संज्ञा दिँदै त्यसले कानुनी शासनमाथि प्रश्न उठाएको आरोप लगाए। देश कानुनी बाटोमा हिँडिरहेको छ कि अराजकतातर्फ गएको छ भन्ने प्रश्नको जवाफ पनि उनले सरकारसँग मागे।
दुलालले ‘सरकारको दादागिरी’ अन्त्य हुनुपर्ने बताए। राणालाई पक्राउ गरिएको हो वा सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा प्रहरीको दाबी र सार्वजनिक विवरण फरक देखिएका बेला घटनाको कानुनी आधार स्पष्ट गर्नुपर्ने उनको माग छ।





