महाकालीको बहाव घटेपछि वनवासा पुलबाट सवारी आवागमन शुरु

ड्रागन मिडिया सम्वाददाता
महाकाली नदीमा पानीको बहाव घटेपछि कञ्चनपुरको गड्डाचौकी नाका जोड्ने शारदा ब्यारेजस्थित वनवासा पुलबाट सोमबार सवारी आवागमन पुनः शुरु भएको छ। नदीमा बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलबाट चारपाङ्ग्रे सवारी चल्न रोक लगाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार सोमबार बिहान बहाव घटेसँगै पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो। प्रहरीले नदीमा पानीको बहाव ९८ हजार क्युसेक मापन भएको जनाएको छ। पुल जीर्ण रहेको जनाउँदै भारतीय पक्षले बहाव एक लाख क्युसेकभन्दा माथि पुग्दा ठूला सवारीलाई रोक्ने गरेको छ।
महाकाली बहुउद्देश्यीय यातायात कम्पनीका अध्यक्ष नवीन भट्टका अनुसार महेन्द्रनगरबाट काठमाडौँ, पोखरा र अन्य स्थानका लागि यातायात सेवा पनि शुरु भएको छ। लगातार वर्षाका कारण काठमाडौँतर्फका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लातर्फको यातायात तीन दिनदेखि प्रभावित भएको उनले बताए।
पुल खुलेसँगै नेपाल–भारत यात्रु आवागमन सहज भएको छ। यद्यपि नदीको बहाव फेरि बढे सवारी सञ्चालनबारे पुनः निर्णय हुन सक्ने भएकाले यात्रुले प्रस्थानअघि नाका र सडकको अवस्था बुझ्नुपर्ने हुन्छ।





